असहायको सहारा बन्दै मानव सेवा आश्रम

दिनरात खुल्ला आकाशमुनि नारकीय जीवन बिताइरहेका असहाय एवं मनोरोगीका लागि कास्कीको पोखरामा रहेको एक संस्था भरपर्दो सहारा बनेको छ । वडा– १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरूलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिँदैआएको छ ।

पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन बिताउँदै आएका अनाथ, अशक्त, असहाय एवं मनोरोगीको उद्धार गरी उनीहरूको उपचार, पालनपोषण र स्याहार गर्दै पारिवारिक पुनर्मिलन गराउन थालिएको उक्त आश्रमका कास्की शाखा अध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

उनका अनुसार ०७४ चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट सुरु गरिएको आश्रममा अहिले दुई महिने शिशुसहित ९१ वर्षका ज्येष्ठ नागरिकसम्म गरी ९० जना छन् । समाजका अनाथ, अपांग, अशक्त, असहाय एवं मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाको स्थापना गरिएको हो ।

पोखरा रामबजारस्थित एसओएस बालग्राम आमा समूह एवं सफल बचत तथा ऋण सहकारी संस्था पोखरा–७ घारीपाटनद्वारा एक छाक खानाका लागि १७ हजार ५०० का दरले सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

उत्पादनसँगै मनोरोगीहरूको जीवनशैलीमा समेत परिवर्तन आउने र त्यसले सामाजिक जीवनमा लैजान महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ आश्रमको हातामा तरकारी खेती समेत सुरु गरिएको छ । संस्थाको कास्की शाखामा उनीहरूको पालनपोषणमा दैनिक ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

पोखरामा रहेका विभिन्न संघसस्था, स्थानीय तहलगायत जन्मोत्सव, विवाहगाँठ, पुण्यतिथि लगायतका विभिन्न अवसरहरूमा प्राप्त हुने सहयोगले आश्रम सञ्चालन हुँदै आएको छ । उनका अनुुसार आश्रममा हाल खानाको समस्या नभए पनि लत्ताकपडा र उपचारमा भने कठिनाइ हुने गरेको छ ।

आश्रमका लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५÷७६ मा छ लाख रूपैयाँ प्राप्त भएको थियो । पोखरा महानगरपालिका वडा नं ८, ९ र १७ बाट ५०-५० हजार रूपैयाँका दरले रकम प्राप्त हुँदै आएको छ । अध्यक्ष तिमिल्सिनाका अनुसार वार्षिक डेढ करोड रूपैयाँ पालनपोषणमा मात्र खर्च हुने गरेको छ ।

पोखरा बजारमा कष्टकर जीवन बिताउन बाध्य २ सय ५० जनाको उद्धार भइसकेको छ भने कास्की, गोरखा, पाल्पा, तनहुँ, स्याङ्जालगायतका विभिन्न जिल्लाका ७० जनालाई उपचार पछि परिवारसँग पुनर्मिलन गराइसकिएको छ ।

मानव सेवा आश्रम कास्कीका सहसंयोजक राजन सापकोटाका अनुसार सडकबाट प्रहरी, आमा समूह, क्लब एवं स्थानीय बासिन्दाको सहयोगमा उद्धार गर्नुभन्दा पनि आश्रममा ल्याइसकेपछि सरसफाइ र पारिवारिक वातावरणमा रूपान्तरण गर्न लामो समय लाग्ने गरेको छ । आश्रममा रहेका आमाबुबामा पुरानो कपडा लगाउँदा मानसिक असर पर्ने गरेका कारण नयाँ कपडामा जोड दिँदै आएको पनि उनले बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले पछिल्लो समय मुलुकका सातवटै प्रदेशमा आश्रम सञ्चालनसँगै सडकका मुख्य बजारमा असहाय एवं मनोरोगीको संख्यामा कमी आएपछि ती व्यक्तिका कारण हुने दुर्घटनामा समेत कमी आएको बताए ।

‘सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने मुख्य नारासहित मकवानपुरमा मुख्य कार्यालय रहेको यस संस्थाका मोरङ, काठमाडौं, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रूपन्देही, कैलाली र सुर्खेतमा गरी १२ जिल्ला शाखा छन् भने तीन वटा उपशाखा पनि छन् ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार ०६९ सालमा स्थापना भएको संस्थाले आठ हजारभन्दा बढी सडक मानव एवं मनोरोगीको उद्धार गरिसकेको छ । यस अवधिमा २० भारतीय र एक बंगलादेशी महिलासहित ४०० जनालाई पारिवारिक पुनर्मिलन गराइसकिएको छ ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सडकमा उद्धार गरिएका महिलाबाट जन्मिएका सन्तानका लागि गोरखा जिल्लामा बाल गोपाल नमूना बाल शाखा सञ्चालन गरिएको छ, जुन शाखामा हाल विभिन्न जिल्लाका ३५ जना बालबालिका रहेका छन् ।

वैदेशिक दातृ राष्ट्रको शर्तसहितको सहयोग नलिई मुठ्ठीदानबाट सञ्चालन गर्ने लक्ष्यका साथ मानवताका लागि सञ्चालन हुँदै आएको यस आश्रमलाई अहिले स्थानीय सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको उनको भनाइ छ ।

‘एक गाँस भोजन र एकसरो कपडाका अभावमा कसैले पनि सडक जीवन बिताउन नपरोस, दिसापिसाब र फोहरमा लत्पत्तिएर जीवनको भिख माग्न नपरोस्’ भन्ने अभियानका साथ आश्रम सञ्चालन गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । नेपालमा ०८२ सालसम्ममा सडकपेटी एवं सार्वजनिक स्थलमा कसैले पनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्यका लागि संस्था कटिबद्ध रूपमा लागेको उनले प्रष्ट पारे ।

‘दाता दिने बेलामा खुसी, दिइरहेका वेलामा शान्त र दिइसकेपछि सर्वोत्कृष्ट हुन्छ’ भन्ने अभियानअन्तर्गत मुलुकका विभिन्न १५ वटा शाखा र उपशाखामा १०० जना मानव सेवा अभियन्ता क्रियाशील रहेका छन् । चालीस जना सेवकसेविका आश्रमका आमाबुबाको दिसालाई फोहर नसम्झी सरसफाइमा अहोरात्र खट्दै आएका छन् ।

संस्थाको सक्रियतामा १२ वर्षसम्म गाईको गोठ बाँधिएका लम्जुङ चितीका मानसिं नेपाली, १३ वर्षसम्म हातमा सांङ्लो लगाइएका सप्तरीका उमाकान्त चौधरी, भरतपुर अस्पतालको हातामा आश्रय लिएका ६ जना, लुम्बिनी अस्पताल नजिकबाट खुट्टामा भई कीरा परेका एक जना र रोल्पाकी पूर्व लडाकू सीता विक भन्ने निर्मलालगायतका दर्जनौँलाई उद्धार गरिइसकिएको छ ।

संस्थाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम) को निर्माण कार्य सुरु गरेको छ । लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा तीन अर्ब तीन करोड रूपैयाँको लागतमा सो स्मारक निर्माण गरिन लागिएको हो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको सो धामका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा उपलब्ध गराएको २४ लाख रूपैयाँबाट निर्माण कार्य सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । प्रदेश सरकारले आव ०७६÷७७ मा धाम निर्माणलाई निरन्तरता दिन पाँच करोड रूपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग खण्डमा पर्ने सो आश्रमको गुरुयोजनाअनुसार पाँच सयजना क्षमताको सडक मानवता जागरण तालिम केन्द्र र बाल उद्यान निर्माण गरिने छ । त्यस्तै, प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ जाने श्रद्धालु भक्तजनलाई सुविधा पु¥याउने उद्देश्यका साथ ३०० क्षमताको ‘यात्री सेवा सत्तल’लगायत विभिन्न आवश्यक भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया