छायाँनाथ राराकोे नीति तथा बजेट सार्वजनिक

मुगु । छायाँनाथ रारा नगरपालिकाले आव ०७६-७७ को नीति तथा बजेट सोमबार सार्वजनिक गरेको छ । नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले पाँचौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरपालिकालाई आर्थिक रूपले सम्पन्न, भौतिक रूपले सहरी सुविधायुक्त, राजनीतिक हिसाबले समाबेशी सहभागिता, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित नगरको रूपमा विकास गर्ने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने
नगरपालिकाले नगरका १४ वटै वडामा जनताले प्रत्यक्ष अनुभूति गर्ने आर्थिक समृद्धि, सामाजिक रूपान्तरणमा टेवा पुग्ने भौगोलिक सन्तुलन कायम राख्ने योजना तर्जुमा, मागमा आधारित माटो सुहाउँदो कार्यक्रम सञ्चालन गरी यस क्षेत्रको गरिबी न्यूनीकरण गर्ने बताइएको छ ।

नगरका १४ वडाका सबै बस्तीमा सडक सञ्जाल जोडी गाउँ र नगरलाई एकआपसमा जोड्ने यस वर्ष पनि निरन्तर दिइनेछ । एक गाउँ एक पक्की सडक, एक बस्ती एक ग्राभेल सडकलाई प्राथमिकता दिई सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । गमगढी बजारमा चक्रपथ निर्माण यसै वर्ष सम्पन्न गर्ने र नगरपालिकाको सडक गुरुयोजना निर्माण गरिने नगरप्रमुख शाहीले बताए ।

रेडक्रस चोक हुँदै राता चौरसम्मको सडक निर्माण कार्य दु्रत गती बढाउने हाम्रो गाउँ हिलो धुलोमुक्त ठाउँँ नारालाई साथक बनाई प्रत्येक गाउँघरका बाटोहरू आरसिसी पिसिसी गरिने छ ।

उज्जालो घर, राम्रो नगर
उज्जालो घर, राम्रो नगर अभियानअन्तर्गत सबै बस्तीमा विद्युत् सेवा बिस्तार गर्ने कार्यक्रमा उल्लेख गरिएको छ । नगरभित्र संभावित क्षेत्रहरूमा विद्युत् उत्पादन गर्न पूर्व सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्र एक मेघावाट विद्युत् उत्पादन गरिनेछ ।

बाल विकास केन्द्रको पूर्वाधार विकास, बालमैत्री बाल विकास केन्द्र, खेल्दै सिक्दै कार्यक्रम सञ्चालन, नगरपालिकाभित्र ३९ वटा प्रारम्भिक बालविकास केन्द्रको सर्भेक्षण गरी केही ठाउँमा थप बालविकास केन्द्रको स्थापना र १० वटा बालबिकास केन्द्रलाई नमुना बालविकास केन्द्रका रूपमा विकास गरिनेछ । साक्षर नगर हाम्रो गौरव कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख शाहीले बताए ।

विपन्न तथा गरिब परिवारका उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्ने नीति लिएको छ । यसैबीच ‘शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ जन, छायाँनाथ राराको धन’ भन्ने नारालाई साकार पार्न प्राथमिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकी तथा आयुर्वेद औषधालयको भौतिक अवस्था सुधार र स्रोतसाधनमा वृद्धि गरिनेछ ।

रक्सी होइन दूध खाउँ
कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेतीयोग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ । ‘रक्सी होइन दूध खाउँ’ भन्ने कार्यक्रम अगाडि बढाइनेछ । भैँसी, गाई सुन्दरी प्रतियोगिताको सुरुआत गरिनेछ ।

दूध, फूल, माछा, मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पहाड नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पाँच वर्षभित्र रारा, छायाँनाथ, थार्र्प, चंखेली ऋणमोक्षमा पर्यटन संख्यामा दोब्बर बनाउने नीति लिइएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले छायाँनाथ रारा नगरपालिकाको ३१ करोड ८५ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरिन् । उनका अनुसार विकासतर्फ १२ करोड ४४ लाख कर्मचारीको तलब तथा प्रशासनिकतर्फ १९ करोड २ लाख रहेको छ ।

केन्द्रीय राजस्व बाँडफाँडबाट ८ करोड ५८ लाख, कर्णाली प्रदेशबाट १ करोड ५ लाख, प्रदेश तर्फको राजस्व बाँडफाँडबाट ६ लाख ५९ हजारको बजेट सार्वजनिक भएको जानकारी दिइन् । नीतिगत रूपमा गत १० गतेभित्र स्थानीय सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भए पनि बजेट सिलिङमा वडाध्यक्षले विरोध जनाएपछि नीति तथा बजेट ढिलो हुन पुगेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया