काठमाडौं । साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगिन् । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरु भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेकी हुन् ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेश फर्किएदेखि नै आफू र छोरालाई शंका गर्ने गरेको ती महिलाले दुःखेसो पोखिन् । पटकपटकको झगडापछि उनीले अदालतमा माना चामलका लागि मुद्दा हालिन् । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुंगिएको छैन । डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उनले बताइन् । उनले भनिन्, ‘रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।’
छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमान्ले शंका गरेपछि ती महिला परीक्षणका लागि आएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए । उनका अनुसार महिनामा झन्डै तीन चारजनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शंका लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उनको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उनको भनाइ छ । उनले भने, ‘आमा र बाबु दुवै विवादित भएका दुई तीनवटा मात्रै मुद्दा आएको छ ।’
सूचना अधिकारी झाका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो÷होइन भनेर जान्न चाहन्छन् । उनले भने, ‘हामीले महिनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।’
अर्काे एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरू सदस्यलाई हङकङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरूमध्ये एकजनाको नतिजा सकारात्मक र एकजनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरूलाई दिएको छैन । प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।
यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्य गरेर अदालत र त्यसबाहेक अध्यागमन विभागलगायतको सिफारिसमा मात्रै डिएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो-होइन शंका लागेकै भरमा परीक्षणका लागि आउने गरेको उनले बताए । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डिएनए परीक्षण गर्न आउँदा नतिजा नकारात्मक नतिजा आएको पाइन्छ ।
डिएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगतरूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताए । अध्यागमनको प्रयोजनका लागि डिएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेरसमेत परीक्षण गराउन चाहने उहाँले बताए । उनले भने, ‘हामीले पूरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।’
नेपालमा विसं ०६२ बाट मानिसको डिएनए परीक्षण सुरु हुँदाभन्दा अहिले डिएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उनले बताए । डिएनए परीक्षण सुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उनले भने, ‘यसले निर्दाेष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।’
नेपालमा अहिले तीन किसिमको डिएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डिएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताए । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उनले बताए । यी दुवैमा एउटा व्यक्तिको डिएनए सयौँ पुस्तासम्म मिल्न सक्छ । यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उनले बताए । उनले भने, ‘कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरे पनि एउटा दिशातर्फ निर्देशन गर्छ ।’ प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डिएनए परीक्षण सुरु गरेको छ ।
प्रतिक्रिया