पर्यटक लोभ्याउँदै पाताले छाँगो

पोखरा । पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्कोपल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजिकबाट नियाँलेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृश्यहरूले प्रदान गरेको छ । विशिष्ट प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्यमध्येको एक हो पाताले छाँगो । पोखरा महानगरपालिका–१७ स्थित छोरपाटनमा रहेको यस छाँगोले बर्खायामसँगै पर्यटकलाई झनै लोभ्याइरहेको छ ।

जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा हेर्न लायकको देखिन्छ । हिउँदमा भित्रभित्र सुस्ताउँदै बग्छ भने बर्खायामसँगै आफ्नो असली रूप देखाएर पर्यटकलाई लोभ्याउँछ । बर्खायामको छुट्टै आकर्षक मानिने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । यतिबेला पर्यटकहरू सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ ।

डेभिज फल्सको नामकरणको सम्बन्धमा ‘इसं १९६१ जुलाई ३१ तारिखको मध्याह्नमा स्विस नागरिकले छाँगोभन्दा तल नुहाइरहेको वेला फेवातालबाट बाढी आएर उनलाई बगाएको थियो । ‘त्यही वेलादेखि उनकै नामबाट यस पाताले छाँगोलाई डेभिड फल पनि भनिन थालिएको हो’, उक्त स्थानमा राखिएको जानकारी बोर्डमा उल्लेख छ । ५०० मिटर भूमिगत जल प्रवाह र १०० फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृतिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरूले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ ।

कञ्चनपुर वेदकोट नगरपालिकाका यज्ञराज भट्टले पोखरा नाम जस्तै सुन्दर रहेको प्रतिक्रिया दिए । ‘पोखराको सुन्दरताका बारेमा सुनेको थिए, आज यहीँ ठाउँमा आएर घुम्दा निकै रमाइलो लाग्यो, फेवाताल, वेगनासताल हुँदै पाताले छाँगोको दृश्यावलोकन गर्दा प्रकृतिलाई नजिकैबाट नियाँल्ने अवसर मिलेको छ, मन प्रफुल्लित भएको छ’, भट्टले भने ।

चितवनको गर्मी छल्न परिवार साथ पोखराको पाताले छाँगो हेर्न आएकी सकुन्ताल सुवेदीले पनि छाँगो र आसपासका दृश्यमा आफूहरू निकै रमाइरहेको बताईन । पोखरा–१७ स्थित छोरपाटन उच्च माविले पाताले छाँगोको संरक्षण गर्दै आएको छ । ०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकहरूबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले जानकारी दिए ।

करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा गत वर्ष मात्र नौ लाख पर्यटकले दृश्यावलोकन गरेको छोरेपाटन उच्च माविका प्रधानाध्यापक लक्ष्मण थापाले बताए । बर्खायाम पर्यटकका लागि उपयुक्त सिजन होइन । यद्यपि, आन्तरिक र भारतीय पर्यटकको चाप भने हुने गरेको छ । दैनिक औसत दुई हजार ५०० को हाराहारीमा पर्यटकहरूले यो छाँगोको अवलोकन गर्छन् । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी १०, नेपाली २० र विदेशीलाई ३० रूपैयाँ तोकिएको छ । गत वर्ष मात्रै टिकटबाट दुई करोड रूपैयाँको हाराहारीमा आम्दानी भएको प्रधानाध्यापक थापाले बताए ।

पोखरालाई पर्यटनको हब बनाउन गुरूयोजनाहरू अघि बढाइएको छ । पाताले छाँगोमा पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारीअन्तर्गत पोखरा पातले छाँगोमा सिसाको पुल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा यहाँ सिसाको पुल निर्माण गर्ने उल्लेख गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रमबाट ‘हाम्रो चाहना, पर्यटनमैत्री निर्माण संरचना’लाई अभियानकै रूपमा अगाडि बढाउन सोही अनुसारका कार्य योजनालाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनको समग्र विकासका लागि एकीकृत योजनाका साथ लेक टू लेक, केभ टू केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गका रूपमा अगाडि बढाइने उल्लेख छ । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउन ‘पहिले देश, अनि विदेश’ अभियानलाई विशेष जोड दिइने प्रमुख जिसीले बताए ।

प्रतिक्रिया