काठमाडौं । बाढीपहिरोका कारण भएको जनधनको क्षतिले अरु वर्षजस्तो यस वर्षको असार २९ ले मन प्रसन्न हुन नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतबार कमलादिस्थित प्रज्ञा भवनमा आयोजना गरेको २०७५ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्कृतिमन्त्रीसमेत रहेका ओलीले गर्दै भाषिक–सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताए ।
ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः…’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकांक्षा बन्न पुगेको बताउँदै उनले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएको उल्लेख गरे । सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
व्यक्तिले आफू बाँचिरहेको वेलामा नै योगदान गर्नुपर्छ भन्दै उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राखेको बताए ।
सो अवसरमा संस्कृति राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कार्यविधिअनुसार छनोट भएका ४२ स्रष्टालाई सम्मान गरिएको जानकारी दिए ।
भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्वजित मानव मर्यादा पुरस्कार वि.सं २०७२ देखि वितरण सुरु गरिएको बताए । महाकवि देवकोटा बाल एवं लोकसाहित्य पुरस्कारबाट सम्मानित जीवेन्द्रदेव गिरीले पुरस्कारले थप काम गर्ने उत्साह जागेको बताए ।
मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, संगीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको हो । संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार प्यूठानमा जन्मिएका गितु गिरीलाई प्रदान गरियो । गिरीका सांस्कृतिकलगायत विविध विषयमा लेखिएका करिब दुई दर्जन पुस्तक प्रकाशित छन् । यसैगरी संगीत तथा नाट्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार गायक जीवन शर्मालाई प्रदान गरियो । ललितकला विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्रा. गोविन्दनारायण ज्यापू, भाषा तथा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार डा. ओमवरसिंह बस्न्यातलाई प्रदान गरियो । सबै विधाका राष्ट्रिय प्रतिभा पुरस्कारको राशि एक लाख र प्रमाणपत्र छ ।
यसैगरी महाकवि देवकोटा पुरस्कार साहित्यकारमा कवितातर्फ तेह्रथुमका विश्वविमोहन श्रेष्ठ, निबन्ध÷समालोचनातर्फ लमजुङका डा. देवीप्रसाद सुवेदी, गद्य आख्यान÷नाटकतर्फ बाँकेका नयनराज पाण्डे, बाल÷लोकसाहित्यतर्फ सुर्खेतका प्रा.डा. जीवेन्द्रदेव गिरी र भाषा साहित्यतर्फ काठमाडौंका रोचक घिमिरेलाई प्रदान गरियो । देवकोटा पुरस्कारको राशि पनि एक लाखको रहेको छ ।
एक लाख राशि रहेको भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलनको क्षेत्रबाट चितवनका रणेन्द्र बराली, समाज सुधार अभियानतर्फ धनकुटाका भद्रमान घले, सीप, कला, शिक्षा, साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रका तर्फबाट धनुषाका रमेशरञ्जन झालाई प्रदान गरियो ।
संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट भोजपुरका डा. भक्तबहादुर राई, प्रदेश २ बाट महोत्तरीकी प्रा. डा. शोभा पोखरेल, प्रदेश ३ बाट काठमाडौंका वसन्तमान महर्जन, गण्डकी प्रदेशबाट कास्कीको अलिमिया लोक वाङ्मय प्रतिष्ठान, प्रदेश ५ बाट गुल्मीका युवराज शर्मा गौतम, कर्णाली प्रदेशबाट हुम्लाका छक्कबहादुर लामा र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराका भोजराज भट्टराईले पाएका छन् ।
ललितकला विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट सुनसरीका स्वयंप्रकाश श्रेष्ठ, प्रदेश २ बाट सप्तरीका हरिओम मेहता कोइरी, प्रदेश ३ बाट दोलखाका उमेश श्रेष्ठ, गण्डकी प्रदेशबाट कास्कीका आलोक गुरुङ, प्रदेश ५ बाट नवलपरासीका नरबहादुर विश्वकर्मा, कर्णाली प्रदेशबाट मुगुकी पेमाल्हामु गुरुङ र सुदूरपश्चिम प्रदेशबाट कैलालीकी कविता चौधरीले पाए ।
यस्तै, संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट भोजपुरका चेतबहादुर राई, प्रदेश २ बाट रौतहटका वृजलाल सहनी, प्रदेश ३ बाट सिन्धुलीकी डम्बरकुमारी गुरुङ, गण्डकी प्रदेशबाट बाग्लुङका कर्णबहादुर गौतम, प्रदेश ५ बाट कपिलवस्तुका इन्द्रबहादुर विक, कर्णाली प्रदेशबाट जुम्लाका पद्मबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशबाट डोटीका ध्वजबहादुर महरा रहेका छन् ।
यसैगरी, भाषा तथा साहित्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेमा प्रदेश १ बाट भोजपुरका पद्मकुमार राई, प्रदेश २ बाट धनुषाका चन्द्रशेखर उपाध्याय, प्रदेश ३ बाट काठमाडौंका शम्भुकुमार रेग्मी, गण्डकी प्रदेशबाट स्याङ्जाका देवीप्रसाद वनबासी, प्रदेश ५ बाट दाङकी बिन्दु शर्मा, कर्णाली प्रदेशबाट दैलेखका लालबहादुर खत्री र सुदूरपश्चिम प्रदेशबाट कैलालीका भोजराज भट्ट रहेका छन् । प्रादेशिक प्रतिभा पुरस्कारको राशि ५० हजार रहेको छ ।
संस्कृति र भाषा साहित्यतर्फको पुरस्कार छनोट समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संगीत तथा नाट्य विधातर्फ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ र ललितकला विधातर्फ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
सबै पुरस्कार छनोेट समिति तीन सदस्यीय थियो । संस्कृतितर्फको सदस्यमा विज्ञका तर्फबाट प्रा. डा. प्रेमकुमार खत्री, संगीत तथा नाट्य विधातर्फ विज्ञ सदस्यमा जेबी टुहुरे, ललितकलातर्फको विज्ञ सदस्यमा नारदमणि हार्तम्छाली र भाषा साहित्यतर्फको विज्ञ सदस्यमा प्रा. डा. केशवप्रसाद सुवेदीलाई मन्त्रालयले मनोनयन गरेको थियो । सबै समितिको सदस्य सचिवमा मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी रहेको जनाइएको छ ।
पुरस्कार छनोट गर्न मन्त्रालयका सहसचिव सुवेदीको संयोजकत्वमा भगत सर्वजीत स्मृति प्रतिष्ठानका प्रतिनिधि डा. निर्मलकुमार विश्वकर्मा, विज्ञ सदस्यद्वयमा सांसद खेम नेपाली र लक्ष्मण रायमाझी सदस्य रहेका थिए । सदस्यसचिवमा मन्त्रालयका उपसचिव हरिकृष्ण ज्ञवाली रहेको थिए ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारतर्फ नाटक पुरस्कार मकवानपुरका प्रा. डा. केशवप्रसाद उपाध्याय र काव्य पुरस्कार झापाका भीष्म उप्रेतीलाई प्रदान गरिएको थियो । रिमालको नाममा स्थापना गरिएको पुरस्कार छनोट गर्न प्रतिष्ठानका कुलपति उप्रेतीको संयोजकत्वमा विज्ञ सदस्य प्रा. डा. देवीप्रसाद सुवेदी र सदस्यसचिवमा मन्त्रालयका सहसचिव सुवेदी रहेका थिए ।
प्रतिक्रिया