घरेलु हिंसा भुलेर सक्षम बन्दै महिला

शिल्पाकुमारी पार्कीको विवाह १४ वर्षकै उमेरमा भयो । बझाङ तल्कोट गाउँपालिकाकी उनले २० वर्ष मै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन् । कक्षा ६ मा पढ्दै गर्दा विवाह गरेकी उनको जीवनमा त्यतिवेला अँध्यारो छायो, जतिवेला पतिले विभिन्न बहाना बनाएर दुःख दिन थाले ।

उनीमाथि दिनहुँ कुटपिट हुन थाल्यो । सबै आफन्त इष्टमित्रले उनका पतिलाई सम्झाए बुझाए । कसैले सम्झाउँदा पनि उनले पत्नीलाई गर्ने व्यवहार फेरिएन । उनका पतिले केही महिनामै अर्की पत्नी भित्र्याए । पतिले सौता भित्र्याएपछि उनका सबै आशा भरोसा मरे । २० वर्षकैै उमेरमा उनलाई कहाँ जाने के गर्ने भनेर चिन्ताले सताउन थाल्यो । धेरै पटक न्याय खोज्दै भौतारिएको उनले बताइन् । उनले भनिन् ‘कति पटक गाउँ नजिकैको इलाका प्रहरी कार्यालयमा धाएँ, निवेदन दिएँ । प्रहरीले श्रीमान्, घर परिवार र छरछिमेकीलाई बोलाएर मिलापत्र गराउँथे । मिलापत्र गराएको केही दिन शान्त हुन्थेँ । फेरि कुटपिट गर्न थालेपछि आत्महत्या नै गरुँकी भन्ने सोचसमेत मनमा कयौँ पटक उब्जन्थ्यो ।’

कतैबाट सहयोग नभएपछि उनी घरबाट निस्किन् । कहीँ केही विकल्प नभएपछि उनी महिला अधिकार मञ्चमा पुगिन् । जिल्लामा लामोसमयदेखि महिला अधिकारका क्षेत्रमा काम गरेको उक्त संस्थामा गए सहयोग पाइन्छ भन्ने सुनेकी थिइन् उनले । उनले भनिन, ‘सहयोग पाइन्छ भन्ने सुनेकै भरमा म महिला अधिकार मञ्चमा पुगें ।’ उनले त्यहाँ आफूले भोगका सबै दुःख कष्ट सुनाइन् । आफ्ना भोगाइ माइतीमा समेत खबर गरिनन् । पहिला पनि न्यायका लागि गुहार माग्दा गाउँलेले डराएर सहयोग गरेनन् । धेरैले आफ्नो मान्छे र पैसा चाहिन्छ, नत्र मुद्दा जितिँदैन भन्थे । उनले अन्तिममा आएर महिला अधिकार मञ्चमा निवेदन दर्ता गराइन् ।

उनले भनिन्, ‘०७४ साल साउनमा मञ्चका दिदीहरूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन लगाउनु भयो ।’ उनले महिला अधिकार मञ्चमै बसेर श्रीमानसँग सबन्धविच्छेद गरिन् । उनी अहिले मञ्चकै पहलमा सिलाइकटाइ तालिम लिएर काम गर्दैछिन् । उनी भन्छिन्, ‘अहिले यही काम गरेर गुजारा चलाउँदै छु, राम्रो छ ।’ उनलाई अहिले आफ्नै कमाइ र कसैको हिंसाबिना चलाएको जीवन स्वर्गजस्तै लाग्न थालेको बताउँछिन् ।

उनीजस्तै हिंसामा परेको महिलाहरू महिला अधिकार मञ्च आएपछि सजिलो भएको बताउँछन् । तिनै मध्येकी एक हुन्, देवकी सिंह । बझाङको थलारा गाउँपालिका–८ कि उनलाई वर्षायाममा शरीरमा फोका आउने समस्या थियो । पति र आफन्तले उपचार गर्नुको साटो हेला गर्न थाले । उनले भनिन्, ‘तँलाई कुष्ठरोग लागेको छ, मर् भनेर कुट्थे ।’ पतिले अर्को विवाह गर्न लागेको उनले थाहा पाइन् । यस्तो अवस्थामा उनले पनि महिला अधिकार मञ्चको नाम सुनिन् र न्याय पाउने आसमा त्यही गइन् ।

मञ्चबाट उनलाई न्यायको लागि प्रहरी कार्यालय लगियो । उनी मञ्चले सञ्चालन गरेको सुरक्षित आवासमा बसिन् । उनले भनिन् ‘युएनएफपिएको आर्थिक सहयोगमा मलाई सेकुरेटी गार्डको तालिममा काठमाडौं पठाइयो । दुई सन्तानसहित काठमाडौंमै पुगेर अहिले यहाँ एक संस्थामा सेकुरेटी गार्ड भएर छोराछोरीको लालन पालन र पढाइ खर्चको जोहो गर्दै छु ।’ उनलाई अहिलेको जीवन सजिलो लाग्छ । त्यसैले यस्तो सजिलो बनाइदिने महिला अधिकार मञ्च र युएनएफपिएलाई सधै धन्यवाद दिन्छिन् । उनले भनिन् ‘अहिले न मलाई हिंसा छ न त अरूको कमाइ खानु पर्छ ।’ पतिले दोस्रो विवाह गरेर भारत गएको खबर थाहा पाएपछि उनले आफ्नो अधिकारका लागि बहुविवाहको मुद्दासमेत हालेकी छिन् ।

यस्तो खुसी फर्केला भन्ने त उनलाई लागेकै थिएन । महिला अधिकार मञ्चमा आएर धेरैले नयाँ र स्वावलम्बी जीवन पाएका छन् । यिनै मध्ये अर्की महिला हुन् छबीस पाथीभेरा गाउँपालिकाकी कौफली धामी । सात वर्षअघिको उनी १५ वर्षकी थिइन् । जंगलमा दाउरा लिन गएका वेला छिमेकी गाउँका केटाले तानेर लगे । पाँच दिनसम्म गोठमा राखेर जबरजस्ती शारीरिक सम्पर्क गरे । पति नस्वीकार्दासम्म बाहिर निस्कन दिएनन् ।

उनले बाध्य भएर पति स्वीकारेको बताइन् । जबर्जस्ती स्वीकार गरेको पति मन नपरेकाले कहिले माइती, कहिले पतिको घर बस्ने गरेकी थिइन् । त्यही बिचमा उनका पतिले अर्को विवाह गरे । सौता भित्रिएपछि घरका सबैले उनलाई कुटपिट गर्न थाले । यार्सा टिप्न लेक गएको वेला पतिले मरणासन्न हुने गरी कुटे । कौफली भन्छिन् ‘मरिसकी भनेर छोडेको रहेछ । यार्सा टिप्ने मान्छेले बेहोस् अवस्थामा भेटेपछि उपचार गरेर बचाए ।’

त्यसपछि उनले पतिको घर छोडिन् । सदरमुकाम चैनपुरमा भाँडा माझेर जीवन चलाउँदै थिइन् । केही होला भन्ने आसमा उनी पनि त्यही संस्थामा पुगिन् । उनी त्यहीँ सस्थाको सहयोगमा प्रहरी कार्यालयदेखि अदालतसम्म पुगिन् । दुई वर्षअघि उनले जिल्ला अदालत चैनपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिइन् । अदालतले उनलाई दुई लाख ५० हजार बराबरको सम्पत्ति पाउने आदेश गर्दै सम्बन्ध विच्छेद गरिदियो । त्यसपछि उनी संस्थाकै सहयोगमा कुकको तालिम लिन काठमाडौं गइन् ।

उनले भनिन् ‘अहिले त म होटलमा कुकको काम गर्छु ।’ उक्त संस्थामा आजभोलि जिल्लाका धेरै पीडितले आश्रय मात्र पाएका छैनन्, सीप सिकेर कामसमेत पाएका छन् । महिलालाई न्याय मात्र दिएर हुँदैन, आफँै बाँच्न सक्ने बनाउनुपर्छ भनेर सीप सिकाउने र जागिर खोज्न सहयोग गर्ने काम गरेको महिला अधिकार मञ्चका अध्यक्ष जयन्ती जोशीले बताइन् । उनले भनिन् ‘हिंसामा परेपछि उनीहरूसँग न खाने गाँस हुन्छ, न बस्ने वास ।’

०५८ सालमा स्थापना भएको महिला अधिकार मञ्च बझाङमा हालसम्म पाँच सय ७७ जना महिलाहरूले न्यायको लागि निवेदन दर्ता गराएका छन् । यही मञ्चले सञ्चालन गरेको अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस)मा हाल सम्म एक सय ७७ जना महिलाहरूले सेवा लिएका छन् ।

सेफ हाउस सञ्चालनमा आएपछि दुईजना बालबालिकालाई पढाउन सहयोग गरेको छ । यस्तै महेन्द्रनगरको साथी संस्थामा ७७ जना हिंसा प्रभावित महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर हुन सहयोग गरेको छ । २९ जना महिलालाई १० देखि २१ हजारसम्म आर्थिक सहयोगसमेत गरिएको छ ।

यस्तै, मञ्चमा आएका चार सय ५१ जना महिलालाई मनोविमर्श सेवा, चार सय ४७ जनालाई कानुनी परामर्श सेवा र २५ जना महिलाहरूको जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराइएको छ जनाइएको छ । जयपृथ्वी नगरपालिकाका महिला शाखा प्रमुख टिटा मगरले हिंसा पीडित महिलाहरूको न्यायका लागि मञ्चले ठूलो सहयोग गर्दै आएको र कोही कसैले पनि साथ नदिएका विचल्ली र बेवारिसे अवस्थामा परेका महिलाहरूको सहाराको रूपमा काम गरेको बताइन् ।

हिंसा प्रभावित महिलाको पुनस्र्थापनाका लागि सबै भन्दा ठूलोे योगदान युएनएफपीएको रहेको उनको ठहर छ । एउटै नगरपालिका भित्रका मात्रै महिलाहरू नभएर हिंसामा परेका बझाङ जिल्लाका सबै स्थानीय तहका महिलाहरू र बाहिर जिल्लाका महिलाहरू समेत यसबाट लाभान्वित भएको उनले बताइन् ।

आर्थिक अभावका कारण अझै भने जस्तो सेवा दिन नसकेको मञ्चकी अध्यक्ष जोशीले बताइन् । उनले भनिन् ‘पीडित महिला र बालबालिकालाई सुरक्षित राख्न सकिएन भने उनीहरूमा विश्वास गुम्छ ।’ नगरपालिकामा आएका उजुरीसमेत मञ्चमा आउने गरेका छन् । बुंगल नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक मीना जाग्रीले भनिन्, ‘अहिलेसम्म न्यायीक समितिमा १६ वटा उजुरी परेको छ । ती मध्ये तीनवटा उजुरी महिला अधिकार मञ्चमा पठाएका छौँ ।’ महिला अधिकार मञ्चमा पठाएका उजुरीहरू जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म पुग्ने र यसमा महिला अधिकारकर्मीहरूले सहयोग गरेको उनको अनुभव छ ।

हिंसापीडित महिलाहरूका लागि नगरपालिकाले विभिन्न सीपमूलक तालिमका साथै गाउँ, टोलमा लैंगिक हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका उप–प्रमुख जुना जाग्रीले न्यायिक समितिमा २८ वटा उजुरी दर्ता भएको र त्यसमा एउटा महिला अधिकार मञ्चमा पठाएको बताइन् । उनले भनिन्, ‘हामीले पनि सीपमूलक तालिम सञ्चालन गरेका छौँ ।’

यता जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार महिला हिंसाका घटना वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष ०७२–७३ मा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा लिखित १५ वटा उजुरी र घरेलु हिंसा सम्बन्धि एक सय १४ वटा ठाडो उजुरी आएका थिए ।

यस्तै, आर्थिक वर्ष ०७३–७४ मा १४ वटा लिखित र ८० वटा ठाडो उजुरी परेको महिला सेल प्रमुख पार्वती अवस्थीले बताइन् । त्यस्तै, आर्थिक वर्ष ०७४–७५ मा लिखित १८ र घरेलु हिंसाका ठाडो उजुरी ९३ वटा परे भने आर्थिक वर्ष ०७५–७६ मा जबरजस्ती करणीका ४, जबरजस्ती करणी उद्योगका ५, कर्तब्य ज्यान ४, बहु विवाहका ५ र घरेलु हिंसासम्बन्धि ठाडो उजुरी एक सय २० आएका छन् ।

यहाँका पुरुष र महिलामा चेतना कम र रुढिवादी समाज भएका कारण महिला हिंसा बढी भएको तर उजुरी कम आएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख सुर्यबहादुर केसीले बताए । उनले भने ‘आउनुपर्ने जति उजुरी नआए पनि बर्सेनि उजुरी बढिरहेका छन् ।’ हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयलेसमेत ग्रामीण बस्तीहरूमा नै पुगेर महिला तथा बालबालिकाहरूलाई नियम कानुन र हिंसाका प्रकार, यसले पार्ने असर र यसबाट बच्ने उपायलगायतका विषयमा जानकारी गराउँदै आएको छ । अहिले यहाँका महिला घरेलु हिंसा भूलेर आर्थिक रूपमा सक्षम बन्दै छन् । (महिला खबरबाट)

प्रतिक्रिया