पोस्टरमा समृद्ध नेपाल

काठमाडौं । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारामा केन्द्रित रहेर पोस्टर प्रतियोगिता तथा प्रदर्शनी भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले नेपाल कमर्सियल आर्टिस्ट संघको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त प्रदर्शनी तथा प्रतियोगितामा ५४ जना कलाकार सहभागी भएको विभागीय प्रमुख प्राज्ञ रमेश खनालले बताए । उनका अनुसार प्रतियोगितामा रश्मी श्रेष्ठ प्रथम, अमनराज काफ्ले द्वितीय, राजकी अर्याल तृतीय तथा सान्त्वनातर्फ शान्त हिताङ, शशी राउत, राहुल यादव, विमोचन स्वर्णकार, अनुराग भूर्तेल र प्रविन राई पुरस्कृत भएका छन् । खनालले समाजलाई रूपान्तरणको दिशामा लैजान, सन्देश दिन तथा व्यापारिक प्रयोजनका लागि पोस्टरको विकास भएको जनाए । उनले सबै नेपालीको चाहना समृद्ध नेपाल रहेकाले यसै विषयमा केन्द्रित रही कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पुरस्कृतलाई पुरस्कार प्रदान गर्दै पोस्टरले समाजमा सही सन्देश दिने बताए । उनले पोस्टरको महत्व विश्वमा वाणिज्यकलाको विकाससँगै भएको जनाउँदै औद्योगिक विकासले यसलाई आममानिससम्म लैजान सहयोग गरेको भनाइ राखे । उनले भने, ‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली नारामा कलाकारले निकै राम्रा पोस्टर बनाएर देश निर्माणप्रति सिर्जनात्मक योगदान दिएका छन् । यो सराहनीय कार्य हो ।’

नेपाल कमर्सियल आर्टिस्ट संघका महासचिव भोलानाथ पौड्यालले पोस्टर कलाको विकासक्रमसँगै यसले समाजमा मानिसलाई सन्देश दिएको बताए । उनले प्रतियोगितात्मक तबरले गरिएको यस कार्यक्रमले देश र जनतालाई समृद्ध बन्ने दिशामा लाग्न अभिप्रेरित गरेको छ । त्यस्तै, सहप्राध्यापक राधेश्याम मुल्मीले पोस्टरमा कलाकारले देशको समृद्धिको विषयलाई कलात्मक ढंगले उठाएको बताए ।

संघका अध्यक्ष आइबि मल्लले समाजलाई सचेत गराउँदै सही दिशामा लैजान अभिप्रेरित गर्ने हेतुले पोस्टरकलाको विकास भएको यसको महत्व विशिष्ट रहँदै आएको बताए । उनले भने, ‘पोस्टरकलामार्फत देशको विकास र समृद्धलाई कलाकारले सिर्जनात्मक रूपले उतार्न सफल भएका छन् । यस कार्यले निरन्तरता पाउनुपर्दछ ।’

प्रतिक्रिया