जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

मुगु । छायाँनाथ रारा नगरपालिकाभित्रका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोवास गर्ने अति विपन्न तथा पिछडिएकालाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा एक महिला र पाँच दलित समुदायका विद्यार्थी रहेका छन् ।

विकट हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउन शिक्षा, स्वास्थ्यमा पहुुँच बढाउन नगरपालिकाले छात्रावृत्ति कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

आव ०७४-७५ बाट छात्रावृत्ति कार्यक्रमको थालनी भएको नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्र रहेका विपन्न, दलित, गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गर्दै आएको बताए । यस वर्ष पनि सोही छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख शाहीको भनाइ छ । छात्रावृत्ति पाउने विद्यार्थी मध्ये दुई जना बंगलादेश डाक्टर पढ्दै आएका र तीन जना नेपालमा राम्रो विषय लिएर पढ्दै गरेका छन् ।

उनीहरूको पढाइ खर्चमा राहत स्वरूप अघिल्लो आवमा आठ लाख रकम विनियोजित भएको र यो वर्ष १० प्रतिशत वृद्धि गरी १० लाख विनियोजित गरिएको नगरपालिकाले जनाएको छ ।

विनियोजित रकम मध्ये बंगलादेशमा एमबिबिएस डेन्टल डाक्टर पढ्दै आएका उक्त नगरपालिका–५ का देवीकृष्ण विकलाई चार लाख, त्यस्तै बंगलादेशमा एमबिबिएस पढ्दै आएका वडा–१ की कामना मल्ललाई दुई लाख र जेलमा रहेर पनि पढ्ने इच्छा व्यक्त गरेका नेपालगञ्ज बहुमुखि क्याम्पसमा बिबिएसमा अध्यनरत वडा–५ का धर्मराज विकलाई ५० हजार, मध्यपश्चिम विश्वविद्यालयमा बिएससी तेस्रो वर्ष अध्ययनरत वडा–१३ का विक्रम खड्कालाई ५० हजार र सोही वडाका मेघा कलेजमा अध्ययनरत धमेन्द्र विकलाई ५० हजार गरी १० लाख छात्रावृत्ति रकम सहयोग गरिएको हो । नगरपालिकाभित्र रहेका विपन्न, गरिब, पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने नगरप्रमुख शाहीले बताए ।

छात्रावृत्ति रकम ग्रहण गदै बंगलादेशमा एमबिबिएस पढ्दै आएका देविकृष्णका बुबा काला विकले छात्रावृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पूरा भएको बताए । आर्थिक अवस्था नाजुक खान लाउन नपुग्ने, ज्याला मजदुरी गर्दै आएको गरिब दलित मान्छेले छोरालाई कसरी डाक्टर पढाउने कल्पनामा थिएन । तर, नगरपापिलकाले सहयोग गरेर छोरालाई डाक्टर पढाउन पाउँदा खुसी लागेको विकको भनाइ छ ।

प्रतिक्रिया