सुरु भयो साझाको रात्रि सेवा

काठमाडौं । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा सुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रूपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस सुरु गरेका हुन् ।

तीन रूटमा बस सुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रूटमा अहिले बस सुरु भएको छ । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् ।

यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु संख्या कम भएको उनले बताए । उनले भने, ‘यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।’ अहिले परीक्षणका रूपमा तीन वटा बसबाट सुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ ।

संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रूट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, ‘हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरिद गरेको व्यवस्थापक पाण्डेयले बताए ।

उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा ४५ करोडमा विद्युतीय बस खरिद गर्ने भएको छ । विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ सरकारबाट ३० करोड, काठमाडौँ महानगरपालिकाबाट १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरिद गर्ने निर्णय भएको हो ।

२०७० मा सेवा सुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताए । उनले भने, ‘उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।’ अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो । बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् ।

यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्गमा बस सञ्चालन सुरु भएको थियो ।

दुई दशक पहिलेसम्म सबैभन्दा भरपर्दाे र विस्तार भएको सेवा प्रदायकका रूपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपांगता र ज्यष्ेठ नागरिकमैत्री बसको सुरुआत साझाले गरेको हो । २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि २०७० मा सेवा पुनः सुरु भएको थियो ।

अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपांगता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी सहरी बस रहेका संस्थाले जनाएको छ । अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरू मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरिद र सञ्चालनको तयारीसमेत गरिरहेको छ ।

प्रतिक्रिया