खानेकुरा शुद्ध र विषादिरहित हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच सुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पारे ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।’ उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अहिले संघ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् ।

यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’ उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय संघअन्तर्गत हुने व्यवस्था रहेको बताए ।

प्रतिक्रिया