स्याङ्जा । ‘हाम्रो गौरब हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित ०७५ माघमा गरिएको सातौँ वालिङ महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।
१७ देखि २८ माघसम्म सञ्चालन गरिएको साताँै महोत्सवमा १ करोड ७९ लाख ९५ हजार ८ सय ७ आम्दानी भएको छ भने १ करोड ४६ लाख ६ सय ३८ रकम खर्च भएको छ । जसबाट ३३ लाख ९५ लाख १ सय ६९ रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमार्फत संघका कोषाध्यक्ष तारा श्रेष्ठले जानकारी दिए ।
२ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च हुने लक्ष्य राखिएको महोत्सवमा ६० लाख बचत गर्ने अनुमानित बजेटसहित महोत्सव पूर्व तयारी गरिएको भए पनि लक्ष्यअनुसार काम हुन नसकेको गुनासो पत्रकार सम्मेलनमा पत्रकारले गरेका थिए ।
महोत्सव सम्पन्न भएको करिब ६ महिनापछि पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गर्नुमा कुनै कारण छ कि भन्ने पत्रकारले प्रश्न राखेका थिए । आन्तरिक राजस्व कार्यालय, प्रायोजकहरूको रकम ढिला र केही आयोजकले रकम फस्र्योटमा ढिला गरेका कारण आयव्यय सार्वजनिकमा ढिलाइ हुन पुगेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
महोत्सवमा भएको खर्चमा सबैभन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको छ । १५ लाख अनुमान गरेको आयोजकले झन्डै १० लाखभन्दा बढी कलाकार व्यवस्थापनमा खर्च भएको छ ।
त्यस्तै प्रचारप्रसारमा ६ लाख अनुमान गरेकोमा दुईतिहाइ खर्च भएको देखाएको छ । अतिथि सत्कार, खाजानास्ता, आँधीखोलामा निर्माण गरिएको जलशाय कृत्रिम ताल, लगायतका अधिकांश विषयमा आयोजकले अनुमान गरेकोभन्दा बढी खर्च भएका कारण आयोजकले लक्ष्य अनुसारको रकम बचाउन नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । ‘कमजोरीलाई सुधार्ने हो, आयोजकको केही कमजोरी पनि रहेकोले लक्ष्यअनुसार काम गर्न सकेनाैँ आगामी महोत्सव सुधार्नेछौँ’, पौडेलले बताए ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठले भने, ‘महोत्सवले देशविदेशमा वालिङको नाम स्थापित गर्न सफल भएको छ । यस्ता महोत्सवमा सधैँ लक्ष्य अनुरूप नहुन सक्छ । आगामी महोत्सवमा भूल सुधार्दै वालिङको पर्वलाई निरन्तरता दिउँ ।’
कार्यक्रममा पूर्वअध्यक्ष ले.यामबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, उपाध्यक्ष गिरमान गुरुङ, कोषाध्यक्ष तारा श्रेष्ठ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका वक्ताहरूले हरेक महोत्सवले नयाँनयाँ पाठ सिकाउने हुँदा सिक्दै जाने र सुधार्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्याङ्जा
प्रतिक्रिया