घुस लिदै, शैक्षिक प्रमाणपत्र दिदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृतले घुसको रकम लिदै शैक्षिक प्रमाणपत्र जारी गरेको भेटिएको छ । अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर नतिजा नै फेरबदल गरी दिएको खुलेको हो ।

परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सहायक पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले रकम दिई नतिजा फेरबदल पारेको पाइएको हो ।

परीक्षा नियन्त्रक कार्यालय मानविकी संकायतर्फको एमए गोप्य शाखा कार्यरत शाखा अधिकृत कर्माचार्यलाई रु एक लाख ५० हजार लिई कोइरालाको स्तातकोत्तर अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले बढी प्राप्तांक हुने गरी अनुचित ढंगले अंक थपेका थिए ।

यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ । पदको दुरुपयोग गरी १५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थप गरी कूल २२४ अंक थप गर्न कोइरालाबाट रु एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्र विषयको स्नातकोत्तरतर्फको पाँच विषयमा १०-१० नम्बरका दरले ५० अंक थप गर्न कोइरालामार्फत रु तीन लाख गरी जम्मा रु चार लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कामु प्रशासनिक अधिकृत केदार भट्टराई, अंक थप गराउने रामबहादुर कर्माचार्य र सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया