काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमले सोमबार मलेसियासँग सेमिफाइनल खेल खेल्दै छ । तर मलेसियामा आइतबार बिहानदेखि भारी वर्षाका कारण टिमलाई एसिसीले दिएको समयसम्म पनि वर्षा नरोकिएपछि नेपाली टिमले जिममा नै सामान्य फिटनेस गरे । मलेसियाको मौसमको भर नहुने भएकाले टिमले सेमिफाइनलको अघिल्लो दिन प्रशिक्षणको मौका नपाएका हुन् ।
नेपाली टिमले सेमिफाइनल अगाडि सामान्य फिल्डिङ गर्ने मौका नपाउँदा पनि टिमका कप्तान रोहित पौडेल भने फाइनल पुग्नेमा ढुक्क छन् । मलेसियाको मौसम विभागले सोमबार हुने सेमिफाइनलमा पनि वर्षा हुने देखाएको छ । यस्तो अवस्थामा टिमले सोमबारको खेलमा पिच कुन अवस्थामा रहेको छ, त्यो हेरेर के गर्ने भन्ने निर्णय गर्नेछ । पहिलो र दोस्रो खेलमा नयाँ खेलाडीलाई पनि मौका दिएको नेपालले सेमिफाइनलमा भने उत्कृष्ट ११ खेलाडीलाई मैदानमा उतार्नेछ ।
नेपालले मलेसियाविरुद्ध पछिल्लो पटक यु–१९ विश्वकप छनोटमा हराएको थियो । त्यसैले नेपाली टिम यसपटक पनि जित निकाल्नेमा ढुक्क छ । तर मलेसियालाई भने उसको होम ग्राउण्डको फाइदा हुनेछ । यता नेपालले पनि उमेर समूहदेखि सिनियर स्तरमा किनरारा मैदानमा धेरै प्रतियोगिता खेलेकाले मैदानको अवस्थाको बारेमा निकै जानकार छ । त्यसमा पनि प्रशिक्षक विनोद दासले यो मैदानमा खेलेर आफ्नो आधा करियर बिताएका थिए, जसबाट नेपाली टिमले फाइदा लिन सक्नेछ ।
प्रतिक्रिया