काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन इतरपक्षले महाधिवेशनको तयारी थाल्न दवाव दिने भएका छन् । सभापति शेरबहादुर देउवा भने केन्द्रीय समितिको म्याद डेढ वर्ष थप्ने तयारी गरिरहेका छन् ।
समिति बैठक शुरु हुनुअघिल्लो दिन महामन्त्री शशांक कोइराला निवासमा बसेको इतरपक्षको बैठकले नियमित महाधिवेशनको तयारी अघि बढाउन देउवालाई सामूहिक दबाब दिने रणनीति बनाएको छ । देउवाको कार्यकाल अगामी फागुनबाट सकिदैछ । तर, उनले विगतका सभापतिले पनि आफ्नो कार्यकाल थप्ने गरेको बताउँदै आफूले पनि डेढ वर्ष थप्ने बताईसकेका छन् । तर, इतरपक्षका नेताहरू भने नियमित रूपमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् । नियमित महाधिवेशन फागुनमा गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै तयारी नभएकाले त्यो समय घर्किने देखिन्छ ।
विधानले असाधरण परिस्थितिमा थप एक वर्ष बढाउन पाउने व्यवस्था गरेको छ । त्यसो गर्दा ५ वर्षको कार्यकाल देउवाले सहजै बढाउन सक्छन् । देउवाले संविधान दिएको थप ६ महिनाको अवधि समेत थप्न चाहेका छन् । संविधानको राजनीतिक दल सम्बन्धी व्यवस्थाले थप ५ वर्ष भित्र अधिवेशन गराउन नसक्ने स्थितिमा थप ६ महिनाको समय बढाउन सक्ने व्यवस्था गरेको छ । विधान निर्माणकै वेला केन्द्रीय महाधिवेशनको समय बढाउने अनौपचारिक सहमति बनेको देउवा निकट नेता रमेश लेखकले बताउँदै आएका छन् । तर, संस्थापन इतरपक्षीय नेताहरूले स्थानीय तहको निर्वाचन समेत नजिक आइरहेकाले पार्टीको केन्द्रीय महाधिवेशन नियमित समयमै हुनुपर्ने बताएका छन् ।
‘दुई वर्षपछि केन्द्रीय महाधिवेशन गर्दा स्थानीय तहको निर्वाचन सुरु हुने वेला हुन्छ । महाधिवेशनको विभाजित मानसिकता नमेटिँदै निर्वाचनमा जानु प¥यो भने पार्टीलाई ठूलो क्षति हुने अवस्था हुन्छ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने,‘फागुन चैतमा नभए कात्तिकसम्म अधिवेशन गराउन सकिन्छ । तर, धेरै बढाउन सकिन्न ।’ संस्थापन इतरपक्षको भेलामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित थिए । उनी झापामा भएकाले बैठकमा आउन नसक्ने जानकारी गराएको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
प्रतिक्रिया