थाइल्याण्डको फुकेतमा नेपालको संस्कृति पर्यटन प्रवद्र्धन

काठमाडौँ । थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेतमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

व्याङककस्थित नेपाली दूतावासले फुकेतस्थित नेपाली अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघको सहयोगमा गरेको उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अथाह अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको जानकारी दिए ।

ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, खानी तथ खनिजजन्य उद्योगमा प्रविधि हस्तान्तरणसँगै लगानी गर्न थाइ उद्यमी व्यापारीलाई राजदूत ढकालले आग्रह गर्नुभएको व्याङ्ककस्थित नेपाली दूतावासले आज जनाएको छ ।

थाइ विमान कम्पनीलाई उनले धार्मिक पर्यटन प्रवद्र्धनमा लाग्न सुझाउँदै निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क कायम गर्न आग्रह पनि गरे ।

अवैतनिक वाणिज्यदूत प्रनी साकुलपिपातानाले नेपालका पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न आफ्नो देशका पर्यटन व्यवसायीलाई अनुरोध गरे । थाइल्याण्डका उच्च सरकारी अधिकारी, उद्यमी, लगानीकर्ता, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपालका मौलिक कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया