काठमाडौं । इटालीको नेपोलीमा आयोजना हुने ३०औँ समर युनिभर्सियाड २०१९ मा सहभागी हुन जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई बिहीबार एक कार्यक्रमबीच नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले बिदाइ गरे । तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्नेछ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका कीर्तिमानधारी दीपक विष्टले गर्ने छन् । विष्टले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् । खेलाडीहरूमा सक्षम कार्कीले ८० केजी मूनि, उमेश राज भण्डारीले ६२ केजी मुनि, नम्रता तुलाधारले ६२ केजी मुनि, अश्मिता खड्काले ४९ केजी मूनि र पार्वती गुरुङले एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाउनेछ । ३०औँ संस्करण सम्म आइपुग्दा नेपालले भने पाँचाँै पटक सहभागिता जनाउँदै छ । संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले अन्तराष्ट्रिय खेल क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दोलाई यस युनिभर्सियाड गेममा पनि सफल बनाइ राष्ट्रका शिर अझ उच्च बनाउन सफलताको शुभकामना व्यक्त गर्दै पदक हासिल गरेमा आफ्नो र सुमेरु ग्रुपको तर्फबाट अझ बढी सम्मान गर्ने बताए ।
ओलम्पिककै झझल्को दिने ३०औँ समर युनिभर्सियाडमा विश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढी खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले यस अघि ताइवानमा भएको २९ औँ संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।
प्रतिक्रिया