भाले र अन्डा लिएर जनप्रतिनिधि घरघरमा

धादिङ । जिल्लाकोे नवजात शिशु र आमाको स्वास्थ्यलाई मध्यनजर गर्दै नयाँ योजना ल्याएको छ । घरमा सुत्केरी हुने संख्या शून्यमा ल्याउन ३५ दिनभित्र अनिवार्य जन्म दर्ता गराउने उद्देश्यका साथ सुत्केरी भेटघाट कार्यक्रम राखिएको सिद्धलेक गाउँपालिका–४ का अध्यक्ष रामहरि बराकोटीले बताए ।

सिद्धलेक गाउँपालिकाले नवजात शिशु र आमा दुवै जनाको स्थास्थ्य अवस्था बुझ्न तथा कानुनी प्रावधानको विषयमा समेत जानकारी गराउने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

गाउँपालिकाले नवजात शिशु र आमा दुवै जनाको स्थास्थ्य अवस्था बुझ्न तथा सुत्केरी भेट्न जाँदा एउटा लोकल कुखुराको भाले, एक माना हर्लिक्स, २० वटा अन्डा, हात धुने साबुन, हात सफा गर्ने डिटोल, चामल, दाल, नवजात शिशुलाई एकसेट कपडा र हरियो सागपात लिएर वडाध्यक्ष वा अन्य जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविका समेतलाई पठाउने गरिएको छ । तर, सुत्केरी महिला शाकाहारी भएमा भने कुखुराको भाले र अन्डाको सट्टा घिउको समेत व्यवस्था गरिएको छ ।

यता सिद्धलेक गाउँपालिकाले गाउँपालिका भित्रको प्रत्येक सुत्केरीले अनिवार्य स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्ने, ११ दिनभित्र जन्मदर्ता अनिवार्य गर्नुपर्ने, बच्चा जन्मेको प्रमाणपत्र अनिवार्य हुनुपर्ने प्रावधानसमेत राखेको छ । दलित आमा र बच्चाको लागि भने थप एक हजार दिनेसमेत निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

सुत्केरी भेटमा नवजात शिशुमा देखिने स्वास्थ्य समस्या, सुत्केरी आमाले ध्यान दिनुपर्ने कुराहरू र पोषणको विषयमा जानकारी गराइँदै आएको छ । कार्यक्रम लागू गरिएसँगै हालसम्म सात ओटै वडामा गरी २० जनालाई जनप्रतिनिधीले भेटघाट गरिसकेका छन् ।

प्रतिक्रिया