मुम्बई । बलिउड चलचित्र ‘भुल भुलैया’ को सिक्वेलमा अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहने पक्का भएको छ । लामो समयदेखि चर्चामा रहेको यो चलचित्रका लागि पुरानादेखि नयाँ पुस्ताका कलाकारको नाम चर्चामा आएको थियो । तर, निर्माण पक्षले यसका लागि अभिनेता कार्तिकलाई पक्का गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय दर्शकले निकै रुचाएका कार्तिकले यो चलचित्रमा काम गर्नका लागि सम्झौता गरेको उल्लेख गरेका छन् । व्यस्त नायकको सूचीमा रहेका कार्तिकले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । केही समयअघि उनले चलचित्र ‘लभ आजकल २’ को छायांकन सकेका छन् ।
उनले अहिले चलचित्र ‘भुल भुलैया’ टिमसँग स्क्रिप्टमा काम गरिरहेको खबर आएको छ । स्क्रिप्टलाई राम्रो बनाउनका लागि उनीहरूले निकै मिहिनेत गरिरहेको निर्माता भुषण कुमारले बताएका छन् । उक्त चलचित्रमा कार्तिकसँगै काम गर्ने अन्य कलाकार छानिए पनि तिनको नाम सार्वजनिक गरिएको छैन । समाचारअनुसार चलचित्रको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुनेछ ।
प्रतिक्रिया