काठमाडौं । विभिन्न साना दलले सरकार सर्वसत्तावादी, निरंकुश र लम्पसारवादी बनेको आरोप लगाएका छन् । सिपी मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता एंव पूर्वमन्त्री देवी ओझा लगायत आठ दलले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै सो आरोप लगाएका हुन् ।
राजधानीमा बुधबार गरिएको संयुक्त पत्रकार सम्मेलनमा ओझाले दुई तिहाइको सरकार राष्ट्रियताको संरक्षण, भ्रष्ट्राचार नियन्त्रण, रोजगारीको सृजना, महँगी नियन्त्रण जस्ता कुरामा असफल भएको बताए । उनले सरकार उटपट्याङ अभिव्यक्ति दिँदै हिड्ने तथा विभिन्न जनहित विपरीतको विधेयक ल्याउन लागि परेको उल्लेख गरे । उनले विवादित एसिया प्यासेफिक जस्तो कार्यक्रम गरी प्रधानमन्त्रीले देखाएको सक्रियताले सरकार राष्ट्रिय हित विपरीत उदासीन देखिएको बताए ।
विज्ञप्तिमा सरकार वाइडबडी, सुनतस्करी, एनसेल, फोरजी, मेलम्ची खानेपानी योजना, निर्मला पन्त बलात्कार तथा हत्याकाण्डका अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् । मालेका महासचिव मैनालीले आसेपासे, दलाल पूँजीपतिको संरक्षण गर्न सरकार लागि परेको बताए । संविधानले दिएको अधिकारअनुसार जनताका पक्षमा कानुन बनाउनु पर्नेमा विवादित विधेयक ल्याएर जनताको अधिकार खुम्च्याउन लागेको उनको भनाइ छ । नागरिता, गुठी, मिडिया काउन्सिल र मानव अधिकार आयोगजस्ता विधेयक ल्याएर संस्कार र संस्कृतिमाथि प्रहार गरेको बताए ।
विज्ञप्तिमा काँग्रेस (विपी)का अध्यक्ष भट्टराई, नेकपा मालेका महासचिव मैनाली, राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक ओझा, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोबिन्द निरौला, तेत्तीस दलीय मोर्चा, जनमोचा नेपाल, जनताको प्रजातान्त्रिक पार्टीका नेताले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया