काठमाडौं । मानवतावादी दर्शनका बारेमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र मानववादी संघ (सोच) नेपालद्वारा संयुक्त आयोजनामा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान हरेक क्षेत्रमा खोज–अनुसन्धानमा लागेको बताउँदै हाम्रो दर्शन, इतिहास, सिर्जना र धर्मको सामथ्र्यले विश्वमा पारेको प्रभावबारे सघन छलफल गर्नुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘नेपाली दर्शनका धारामा कुन–कुनलाई समावेश गर्ने ? विश्व जगतमा दर्शनका क्षेत्रमा हाम्रो स्थान के छ ? भन्ने निष्कर्ष निकाल्नका लागि पनि गोष्ठीको आयोजना गरिएको हो ।’
उनले आफूहरूले आफ्नो सामथ्र्यअनुसार नेपाली दर्शनलाई बुझ्नका लागि काम गरेको जिकिर गरे । उनले भने, ‘योग र ध्यानको प्रस्थानविन्दु पनि नेपाल हो । योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण चिज हो । यही कुरालाई आत्मसात् गर्दै प्रतिष्ठानले अर्को साता योग दर्शन, जीवनशैली र स्वास्थ्यका बारेमा समेत बहस गर्दैछ ।’
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले मानवतावादी दर्शनका प्रणेता नेपालकै भएकोमा गर्व लागेको बताए । उनले आमनेपालीको दुःख–दर्द हटाउन शिक्षा र सत्कर्म किन आवश्यक छ भन्ने कुरा जयपृथ्वीबहादुरको सोच र व्यवहारबाट सिक्न सकिने धारणा व्यक्त गरे ।
प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जयपृथ्वीबहादुर सिंहमा राजसी नभएर जनताप्रति उत्तरदायी स्वभाव भएकाले नै उनी मानवतावादी दर्शन लिएर जनजागरणमा लागेको बताए । प्रतिष्ठानका दर्शन विभाग प्रमुख तथा सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै वैदिककालदेखि नै नेपालमा विभिन्न दर्शनको उत्पत्ति र विकास भएको बताए । उनले दर्शन विभागले पचासवटा जति शीर्षकलाई समेटेर ‘नेपाली दर्शन’ नामक पुस्तक तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘त्यसलाई पछि अंग्रेजी भाषामा समेत अनुदित गरी विश्वमा पु¥याइने उद्देश्य छ ।’
सोचका अध्यक्ष बालकृष्ण श्रेष्ठले गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहबारे फलदायी छलफल भएको बताए । उनले नेपालमा जन्मिएका बुद्ध र जयपृथ्वीबहादुर दुवैले मानवतावादी दर्शनको विकास गरेको जिकिर गर्दै मानव कल्याणविना सुख शान्तिको परिकल्पना गर्न नसकिने बताए ।
गोष्ठीमा डा. खगेन्द्र प्रसार्इंले ‘मानववाद, बुद्ध र आलोचनात्मक चेतना’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । डा. प्रसाईंले मानववादको पृष्ठभूमि नेपाल रहेको उल्लेख गर्दै बुद्ध दर्शनमा अलौकिकता नभएर लौकिक चिन्तन पाइने बताए । उनले भने, ‘तथापि बुद्धका कतिपय सोचाइहरू रहस्यात्मक पनि छन् ।’
प्रा.डा. नन्दबहादुर सिंहले ‘विश्वमा मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै जयपृथ्वीबहादुर सिंह दोस्रो गौतम बुद्ध भएको विचार व्यक्त गरे । ‘बझाङमा जन्मिएर राजकाज छाडेर मानवतावादमा लागेको व्यक्ति नेपालमा मैले अर्को देखेको छैन,’ सिंहले भने, ‘विश्व मानवतावादी आन्दोलनमा जयपृथ्वीबहादुर सिंहको अनुपम योगदान छ ।’ मानवतावाद विश्वमा मानिएका तीन सय दर्शनमध्ये एक भएको उल्लेख गर्दै उनले पश्चिमाभन्दा एक दुई वर्ष पहिले सिंहले मानवतावादको थालनी गरेको जिकिर गरे । उनले अर्काको भलाइका निम्ति समर्पित हुनु नै मानवतावाद भएको धारणा प्रकट गरे । चाल्स फ्रान्सिसले सन् १९२९ मा अमेरिकामा र सिंहले भारतमा पहिलो मानवतावादी संस्था खोलेको जानकारी दिए ।
प्रस्तुत कार्यपत्रमाथि प्रज्ञा डा. देवी नेपाल, विष्णु प्रभात, डा. गोविन्द उपाध्याय, दामोदर पुडासैनी ‘किशोर’, तोयानाथ भट्टराई, डा. युपी धमला, इ. राजकाजी रञ्जित, नवराज खतिवडा, विमल फुयाँल, रामदेव पाण्डे, मीनबहादुर सिंह, रमेश पौडेल, विपिन श्रेष्ठ, सीता ओझा लगायतले जिज्ञासा र विचार व्यक्त गरे ।
प्रतिक्रिया