दार्चुला । नेपाल–भारत सीमा क्षेत्रमा नेपाली नागरिकले विभिन्न समस्या झेल्दै आएको नौलो कुरा होइन । यस्तै समस्या झेल्न वाध्य छन्, नेपाल–भारत सीमा क्षेत्र दार्चुलाका नागरिक । भारतीय पक्षले नेपाली नागरिकलाई विभिन्न बाहानामा दुःख दिने गरेका छन् । नेपाली व्यापारीलाई भारतीय कस्टमले र सर्वसाधारणलाई भारतीय सुरक्षाकर्मी एसएसबीले दुःख दिने गरेको नेपाली नागरिकको गुनासो छ ।
विगतदेखि नै नेपाली नागरिकलाई भारतीय पक्षले विभिन्न बहानामा सीमा क्षेत्रमा दुःख दिने गरेको र पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरू आयातमा दुःख दिने गरेको नेपाली व्यापारी नरेश ऐरीले बताए । जुन महिनासम्म अर्थात् आइतबारसम्म भारतबाट दैनिक उपभोग्य सामग्रीहरू, तरकारीलगायत खाद्य सामग्रीहरू आयात गर्दै आएकोमा सोमबारदेखि भने कस्टमले विभिन्न पान बिलहरू माग्दै व्यापारीहरूलाई दुःख दिन थालेको व्यापारी ऐरीले बताए ।
यसरी भारतबाट सामग्रीहरू आयात गर्दा व्यापारीहरूलाई मात्र नभई सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ । एसएसबी कस्टमबाट कागज बनाएर ल्याउनु भन्ने र कस्टमले पान तथा पिन मागेर नेपाली व्यापारीलाई दुःख दिने गरेको गुनासो नेपाली व्यापारीको छ । भारतबाट ठूलो परिमाणमा ल्याइएको सामग्रीहरूको बिल हुने गरे पनि थोरै सामग्रीको बिल भारतीय व्यापारीले नै नदिने गरेकाले नेपाली नागरिकले सीमा क्षेत्रमा सास्ती भोग्नुपरेको छ ।
दैनिक भारतबाट तरकारी, खाद्य सामग्रीहरूजस्ता दैनिक उपभोग्य सामग्रीहरू नेपालको दार्चुला भित्रिने गरेको छ । तर, सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी तथा भारतीय कस्टमले दुःख दिने गरेकाले नेपाली नागरिक समस्यामा परेका छन् । ज्यालामजदुरीदेखि दैनिक उपभोग्य सामग्रीहरूका लागि समेत भारतकै भर पर्ने नेपाली नागरिकको प्रवृत्तिले झन् समस्या र भारतीय पक्षको दुव्र्यवहार सहन बाध्य छन् ।
भारतीय कस्टमले सोमबारदेखि तरकारी तथा अन्य ठूलो परिमाणको पान बिल नभएका सामग्रीहरू रोकिदिएपछि भारतीय कस्टममा केही बेर स्थिति असामान्य बनेको थियो । यसरी नेपाली व्यापारीलाई विभिन्न सामग्रीहरू ल्याउन नदिएपछि भारतीय कस्टममा स्थिति असमान्य बनेको हो । नेपाली व्यापारीहरू तथा भारतीय व्यापारीहरूको भीड भारतीय कस्टममा लागेको थियो ।
नेपाली व्यापारीलाई कस्टमले विभिन्न बाहानामा दुःख दिएपछि दार्चुला उद्योग वाणिज्य संघ मंगलसिंह ठगुन्ना, कोषाध्यक्ष हंसराम कुँवर लगायतको टोली भारतीय कस्टमसम्म पुगेका थिए । यस्तै भारतीय व्यापार संघका अध्यक्ष भूपेन्द्र थापा, व्यापारीहरू प्रकाश गुञ्ज्याल, नवीन खर्कवाल, राजेश कुटियाल, देवराज गब्र्याल, गोबिन्द जोशी, लक्ष्मण कौशल, ओपी बर्मा लगायतको व्यापारीहरू समेत सहभागी रहेका थिए ।
सम्बन्ध नबिगार्न आग्रह
नेपाल तथा भारतीय व्यापारीलाई दुई देशबीचका सम्बन्ध बिगार्ने खालका क्रियाकलाप नगर्न भारतीय कस्टमलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले कानुनी रूपमा कर तिर्नुपर्ने सामग्रीहरू बाहेक अन्य सामग्रीमा कुनै कस्टम नलगाउन आग्रह गरेका छन् ।
दार्चुला-धार्चुलाको युगौँदेखिको सम्बन्ध बिगार्ने खालका गतिविधिहरू र व्यवहार नगर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । युगौँदेखि दार्चुला र धार्चुलाबीच दुई देशको जस्तो नभई फरक सम्बन्ध रहेको स्मरण गराउँदै यस्तो सम्बन्ध भएको वेला सम्बन्ध बिगार्ने व्यवहार नगर्न भारतीय कस्टम तथा एसएसबीलाई आग्रह गरेका छन् ।
यस्तै भारतीय व्यापार संघका अध्यक्ष भूपेन्द्र थापाले पनि नेपाल–भारतको सम्बन्ध भारत–पाकिस्तानको जस्तो नबनाउन सुरक्षाकर्मी तथा कस्टमहरूसग आग्रह गरेका छन् । भारत र नेपालको सम्बन्ध फरक भएकाले उक्त सम्बन्धलाई बिगार्ने काम नगर्न आग्रह गरेका छन् ।
त्यस्तै अन्य भारतीय व्यापारीले पनि नेपाल–भारतमा अन्य विवाह, व्रतबन्ध, पूजापाठका लागिसमेत आवतजावत गर्नुपरेकाले त्यो समयमा भारतीय कस्टमले समझदारी देखाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया