जनकपुरधाम । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई दोषी ठहर गरेको छ । जनकपुर बमकाण्डमा जन्मकैदको सजाय पाईसकेका साहलाई यो मुद्दामा पनि जन्मकैदकै फैसला सुनाइएको हो ।
जिल्ला अदालत धनुषाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले टकला र मनक लामालाई जन्मकैदको फैसला सुनाएको छ । साहलाई हत्याकाण्डको योजनाकार भएको र लामाले उनकै निर्देशनमा हत्या गरेको अदालतको ठहर छ । लामाले अदालतमै आफूले टकलाको निर्देशन र योजनामा सिंघानियामाथि गोली प्रहार गरेको बयान अदालतमा दिएका थिए ।
सिंघानियाको २०६६ फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । घटनामाम संलग्न रामविनोद यादवलाई ३ वर्ष, एकलाल सहनीलाई १० वर्ष, चनरदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष कैदको फैसला अदालतले गरेको छ । यस्तै, तत्कालीत भूमिगत समूहका नाइके मुकेश चौधरीलाई २० रुपैयाँ जरिवानाको फैसला गरेको छ । सोही घटनामा मुछिएका ओमप्रकाश यादव, रामकरण र अंसी राईले भने सफाइ पाएका छन् । यस्तै दीपेन्द्रलाई मुलतबीमा राखिएको छ ।
पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विस्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात वर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विस्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।
प्रतिक्रिया