मिडिया विधेयक संशोधन गर्न माग

रुपन्देही । सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् ।नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित ‘मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक’ विषयमा गरिएको छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले मिडिया विधेयकका कतिपय प्रावधानले मिडियाको स्वतन्त्रतामा आँच पुग्ने भएकाले तत्काल सच्चाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सरकारले सञ्चार संस्थाका नेतृत्वकर्तासँग छलफल नै नगरी मिडिया विधेयक ल्याएकाले त्रुटिपूर्ण रहेको बताए । ‘मिडिया बुझेका सम्पादक र पत्रकारसँग छलफल गरी विधेयक ल्याउनु प्रने थियो’, उनले भने, ‘मिडिया विधेयक काउन्सिल संशोधन वा फिर्ता गरेर मात्र हुँदैन प्रेस काउन्सिलको संरचना परिवर्तन गर्न जरुरी छ ।’

मिडिया विधेयकका कारण समाचार लेखेकै भरमा पत्रकारले समस्या झेल्नुपर्ने स्थिति सिर्जना हुने भएकाले यसमा गम्भीर हुन उनले सरकारसँग माग गरे । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले पत्रकारितामा देखिएको विकृतिका नाममा मिडियालाई अप्ठ्यारोमा पार्ने विधेयक ल्याउन नहुने बताए ।

‘मिडिया सङ्कटमा पर्ने गरी आउने कुनै विधेयक मान्य हुँदैन । मिडियामा विकृति छन् भने स्वयम पत्रकार सचेत हुनुपर्छ’, उनले भने । महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले विरोध भएपछि गुठी विधेयक फिर्ता लिने सरकारले मिडिया विधेयक फिर्ता नलिनु बिडम्वना भएको धारणा राखे ।

रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीले प्रेस स्वतन्त्रता हनन गर्ने विधेयक महासंघलाई मान्य नहुने भएकाले मिडिया विधेयकमा भएका त्रुटि सच्चाएर अगाडि बढ्न सरकारलाई सुझाव दिए । पत्रकारिताको मर्म र भावना बुझेर विधेयक संशोधन गर्न उनले माग गरे ।

एभिन्यूज टेलिभिजनका ब्युरो प्रमुख दामोदर खनालले विधेयक सुधारका लागि दबाब आवश्यक भएको बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण गर्न कुनै ऐन ल्याउन नहुने बताए ।

प्रतिक्रिया