रोड परमिटविनै गाडी सरर

मुगु । जिल्लाको सदरमुकाम गमगढी सडक यातायातसँग जोडिएपछि गाउँगाउँमा सडक खन्ने काम सुरु भयो । सडक खनेसँगै गाडी पुर्याउन प्रतिस्पर्धा भए पनि अधिकांश सडकमा रुट प्रमिटविनै गाडी गुडिरहेका छन् ।

०६९ साल पुस १ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नाग्म–गमगढी सडक खण्डको उद्घाटन गरेका थिए । उद्घाटन भएको चार वर्षपछि मात्र नाग्म–गमगढीमा गाडी गुडाउन रुट परमिट दिइएको थियो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सम्बन्धित क्षेत्रको यातायात व्यवस्था विभागका अञ्चल तथा क्षेत्रीय कार्यालयबाट रुट परमिट लिनुपर्ने प्रावधान रहेको छ । अहिले नाग्म–गमगढी सडक खण्डबाहेक अन्य जिल्ला जोड्ने कुनै पनि सडकमा गाडी गुडाउने अनुमति छैन ।

गमगढीदेखि उत्तर सोरु गाउँपालिकाको तारापानीसम्म २३ किमी सडकमा अहिले ट्रयाक्टर तथा साना सवारी साधन रुट परमिटविना नै चलेका छन् भने तारापानीदेखि कालै र तारापानीदेखि सोरुकोट सडकको अवस्था उही छ । सिंजाको गोठी ज्युला–कालाकाँडा–गम्था सडकको पनि रुट परमिट छैन । गमगढी–नाक्चेलाग्ना सडक खनिएको छाइलसम्मको १७ किलोटरमा पनि व्यवसायीले मालबाहक तथा यात्रुबाहक गाढी गुडाइरहेका छन् ।

यता छायानाथ रारा नगरपालिका भित्रका गमगढी–रोवा, गमगढी–बालै–राताचौर लगायतका सडकमा पनि धमाधम गाडी रुट परमिटविना नै गुडिरहेका छन् । यसरी रुट परमिट नपाएका सडकमा गाडी गुड्दा कुनै घटना भए सम्बन्धित व्यवसायी वा गाडी मालिक आफैँले जोखिमको सामना गर्नुपर्ने भए पनि सम्पत्तिको ठूलो जोखिम उठाएर रुट परमिट नभएका सडकमा सवारी साधन चलाइरहेको रारा छायानाथ यातायात बस व्यवसायी समितिका अध्यक्ष नवराज चौलागाईले बताए ।

रुट परमिट दिने काम जिल्ला प्रशासन कार्यालयको भए पनि कार्यालयले खासै चासो नदेखाएको उनको भनाइ छ । यातायात व्यवसायीले यी सडकमा हामी गाडी गुडाउँछौँ । हामीलाई रुट परमिट चाहियो भनेर आए सम्बन्धित सडकको अवस्था हेरी आपूmहरूले यातायात व्यवस्था विभागलाई सिफारिस गर्ने भए पनि व्यवसायी नआएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

यता यातायात व्यवसायी र स्थानीय प्रशासनले रुट परमिटका विषयमा आ-आफ्नै दावी गरिरहँदा कच्ची तथा धुलौटे सडकको यात्राले यात्रुहरूको ज्यानको जोखिम छ । रुट परमिट नलिएका सडकमा कुनै दुर्घटना भइहालेमा बिरामी पर्दा न त उपचार, ज्यानै जाँदा न त बिमा तथा क्षतिपूर्ति दाबी गर्ने अवस्था नै रहेको छ । एक त हिलाम्मे र धुलाम्मे सडक आफैँमा जोखिम छ भने स्थानीय प्रशासन र व्यवसायीको उदासीनताले रुट परमिट नभएका सडकमा सवारी चलाउनु झन् ठूलो जोखिम रहेको छ ।

प्रतिक्रिया