सुवेदीलाई मनिराज पुरस्कार

कैलाली । नेपाली साहित्य क्षेत्रमा योगदान दिएवापत् साहित्यकार तथा समालोचक दधिराज सुवेदी पुरस्कृत भएका छन् ।

साहित्यकार मनिराज जोशीको नाममा स्थापित ‘मनिराज वाङमय पुरस्कार २०७५’ बाट सुवेदीलाई सम्मान गरिएको हो । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले समालोचक सुवेदीलाई एक लाख राशिको उक्त पुरस्कारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

विराटनगरमा वि.सं २००४ सालमा जन्मिएका सुवेदीले चार दशकदेखि नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङमय क्षेत्रको उन्नयनमा योगदान पु¥याएका छन् । उनका तीन दर्जन कृति प्रकाशन भइसकेका छन् ।

साहित्यकार मनिराज जोशीका छोरा गोविन्दराज जोशीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीमा दुई वर्षअघि उक्त पुरस्कार स्थापना गरेका थिए । गत वर्ष ‘मनिराज वाङमय पुरस्कार’ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो । पुरस्कारका लागि स्रष्टा चयन गर्न भाषाविज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिक्रिया