व्यावसायिक तरकारीखेतीमा युवाको आकर्षण

एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ भने किन हुँदैन तरकारी खेतीमा आर्कषण ? पर्वत जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक १२ लाख रूपैयाँ जति आम्दानी गर्दै आएका छन् ।

करिब अढाइ दशकदेखि तरकारीमा लागेका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको छ । उनकै सिको गर्दै धाइरिङमा अहिले करबि एक सय ५० परिवारले बाह्रै महिना व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । यहाँका किसानले बिरलै असारमा धान रोप्छन् । धानको तुलनामा दसौँ गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले धान रोप्न छोडे र तरकारी खेती गर्न थालेका हुन् ।

साबिक धाइरिङ गाविस–४ र ५ मा करिब २०० परिवारको बस्ती छ । उनीहरू सबै व्यावसायिक तरकारीखेतीमा मात्रै निर्भर छन् । युवा, केटाकेटी र पाको उमेरका सबैजसो बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुने गरेका छन् ।

नजिकैको धाइरिङ सिँचाइ आयोजनाले बस्तीभन्दा तलको समथर फाँटमा बाह्रै महिना सिँचाइ पुगेको छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बिउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँचलगायत कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन । उत्पादन भएको तरकारी लिन पोखराका व्यापारी घरै पुग्छन् । अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी मात्रै लगाउन थालेका छन् ।

कुनै वेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । ‘पहिला अहिलेजस्तो सिँचाइ थिएन । तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो,’ स्थानीय बुद्धिप्रसाद सुवेदीले भने, ‘विदेश गएर फर्किएको भनेपछि विवाह गर्न सजिलै केटी पाइन्थ्यो । अहिले संस्कार फेरिएको छ ।’

तीन वर्ष विदेशमा बिताएका उनले अहिले जागरिलो युवा पाए तरकारी लगाउनकै लागि मासिक २० हजारसम्म पारिश्रमिक दिएर राख्ने बताए । बुद्धिप्रसादले अहिले नौ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । वर्षमा तीन सिजनको तरकारी फल्छ । डेढ दशक अघिसम्म गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका यहाँका दर्जन बढी युवाले गाउँ फर्किएर गरेको प्रगति लोभलाग्दो बन्न थालेको छ ।

तरकारीको आम्दानीले बेनी, कुश्मा, बाग्लुङ, पोखरालगायत बजारमा घरघडेरी जोड्नेको संख्या ५० भन्दा बढी पुगेको किसान हरि आचार्यले बताए । ‘यहाँका सबैजसोको बजारमा घर छ, आचार्यले भने, ‘त्यो तरकारीकै आम्दानी हो । बेमौसमीमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।’

तरकारीमा आत्मनिर्भर भएको जिल्लाकै पहिलो गाउँ हो, जलजला–७ धाइरिङ अहिले पनि तरकारीबाट अधिक आम्दानी गर्ने गाउँका रूपमा यसलाई चिनिएको छ । उक्त गाउँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ ।

कृषि ज्ञान केन्द्र र जलजला गाउँपालिकाको सहकार्यमा चालू वर्षदेखि तरकारीको पकेट क्षेत्र घोषणा भएको छ । कृषकको सक्रियताले यहाँबाट वर्षेनी करोडौँ रूपैयाँ मूल्य बराबरको तरकारी निर्यात हुने गरको कृष ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

जिल्लाकै फलेवास नगरपालिका–११ स्थित सानो गाउँ कर्नासमा यो वर्ष एक करोड रूपैयाँ भन्दा बढी मूल्य बराबरको काँक्रोको बिउ मात्रै उत्पादन भएको छ ।

व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका कर्नासका एक सय घर धुरीले एक करोड २० लाखभन्दा बढी मूल्य बराबरका काँक्रोको बिउ उत्पादन गरेका हुन् । एक दशकभन्दा पहिलेदेखि बिउ उत्पादन गर्दै आएको कर्नासका कृषकले खेतमा फलाउने सुन जस्तै पहेला काँक्रो कै कारण यो गाउँ ‘सुन फलाउने गाउँ’ को रूपमा परिचित छ ।

कर्नासका कृषकहरूले यस वर्ष चार टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थानीवासी कृषक बाबुराम भुसालले जानकारी दिऐ । गत वर्ष झण्डै ५ टन उत्पादन गरेपनि अहिले चार टन उत्पादन भएको उनको भनाइ छ । गत वर्ष त्यहाँका कृषकले बिउ बेचेर डेढ करोड रूयैयाँ गाउँमा भित्र्याएका थिए भने यो वर्ष एक करोड २० लाख रूपैयाँ भित्र्याउने लक्ष्य राखेका छ । ‘यो वर्ष गत वर्षभन्दा केही उत्पादन घटेको छ,’ उनले भने, ‘उत्पादन घटे पनि एक करोड २० लाख रूपैयाँ गाउँमा भित्रने कुरामा हामी ढुक्क छौँ ।’ त्यहाँका कृषकहरूले भक्तपुर लोकल जातको काँक्रोको बिउ लगाउँदै आएका छन् ।

कर्नासमा रहेको नारायणस्थान बिउ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले भने उत्पादित बिउ बिक्री गर्न पाएका छैनन् । गत वर्ष कृषकले व्यापारीसँग अग्रीम सम्झौता गरेर बिउ उत्पादन गरे पनि यसपटक सम्झौता भएको छैन । ‘बिउ उत्पादन र खरीद गर्ने सहमति भए पनि अहिलेसम्म बिक्री भएको छैन ।’

सहकारीका सदस्यसमेत रहेका भुसालले भने, ‘भदौ लागेपछि बिक्री गर्ने भनेर थन्क्याएका छौँ ।’ कृषकले काठमाडौँस्थित कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बिउ बिक्री गर्दै आएका छन् । उनीहरूले प्रतिकिलो तीन हजार रूपैयाँमा सहकारीलाई बिउ बिक्री गर्ने गर्छन् ।

यसपटक व्यापारीले मूल्य घटाउने खोजेका कारण उनीहरूपछि बिउ बिक्री गर्ने योजनामा छन् । काँक्रोको बिउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बिउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नभएको कृषक भुसालको दाबी छ ।

नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्रोको बिउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ । ‘नेपालभर माग हुने बिउको दुई तिहाइभन्दा बढी हिस्सा एउटा गाउँले नै पूरा गर्दै आएको छ,’ कृषक भुसालले भने ।

कर्नासमा प्रत्येक कृषक परिवारले काँक्रोको बिउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा सात लाख ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । माघ महिनामा काँक्रो रोपेदेखि जेठमा बिउ निकाल्ने पाँच महिनामा एउटै परिवारले सात लाख रूपैयाँसम्म भित्र्याउन सकेका छन् ।

प्रतिक्रिया