काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियनले शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ । कक्षा ११ र १२ मा अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमति पत्र प्राप्त शिक्षकलाई बिना शर्त स्थायी अनुमति पत्र (लाइसेन्स) प्रदान गर्नुपर्ने मागसहित शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको हो ।
युनियनले साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्रका लागि खुलेको विज्ञापन स्थगन गर्न तीन दिने दिने अल्टीमेटम पनि दिएको छ । यूनियनले शिक्षक सेवा आयोगका पदाधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाउँदै आयोगले विज्ञापन नं ३५ बमोजिमको अध्यापन अनुमति पत्रका सम्वन्धमा युनियनको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरू मात्र समेटिएको दाबी गरिएको छ । ‘शिक्षा ऐनको आठौं र नवौँ संशोधनको भावनालाई लत्याइएका कारण संगठनलाई यसका विरुद्ध जान बाध्य बनाइएको कुरा जानकारी गराउँदछौँ’ ज्ञापन पत्रमा भनिएको छ । ‘२०४६ को उच्च माध्यमिक शिक्षा ऐन अन्तर्गत २०४९ सालदेखि सेवा गर्दै आएका शिक्षकहरूलाई गरिएको विभेदपूर्ण व्यवहार हाम्रो संगठनलाई अस्विकार्य छ, २०७३ सालपछि नियुक्त भएका शिक्षकहरुसँग अस्थायी अनुमति पत्र पनि नभएको कुरा अवगत नै छ ’ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै आयोगका पदाधिकारीले उक्त विज्ञापनमा केही कुरा अस्पष्ट रहेको स्विकार्दै चाँडैनै मिलाउने आश्वासन दिएको युनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपानेले जानकारी दिए । आयोगले विज्ञापन नम्बर ३५ का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा तीन सय पूर्णांकसहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरूमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
झन्डै ५० हजारले दिए आवेदन
लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन आयोगले गत असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन खोलेको थियो । आयोगका प्रवक्ता डा. तुलसी थपलियाले हालसम्म ५० हजार शिक्षकले अध्यापन अन्ुमति पत्रका लागि आवेदन दिइसकेको जानकारी दिएका छन । ‘शिक्षक लाइसेन्सको लागि आवेदन दिने आवेदकको संख्या करिब ५० हजार पुगेको छ ।
एकै आवेदकले विभिन्न तहका लागि आवेदन दिने भएकाले एकिन कतिले आवेदन दिने भन्न सक्ने अवस्थामा छैन । तर, आवेदन दिने संख्या उल्लेख्य रहेको छ ।’ यद्यपी, थपलियाले, युनियनले विज्ञापन खारेजीको लागि गरेको मागको सम्बन्धमा कुनै प्रतिक्रिया दिएनन् । आयोगले खुलाएको लाइसेन्सका लागि आवेदकले असार २२ गते सम्म फारम भर्न सक्नेछन भने दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सक्नेछन् ।
प्रतिक्रिया