नेपाल–अमेरिका फिल्म फेस्टिभल

काठमाडौं । ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९’ सुरु भएको छ । अमेरिकाको वासिंटन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा शनिबारदेखि सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

फेस्टिभलमा नेपाली पानोरामा अन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधाका चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

उक्त अवसरमा विनोद पौडेलले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘बुलबुल’ को प्रिमियरसमेत गरियो । तीन दिनसम्म चल्ने फेस्टिभलमा प्रविन सेङबोद्वारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिने आयोजकले जनाएको छ । महोत्सवका मानार्थ अध्यक्ष नवीन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्ने बताए ।

नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा नेपालका ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् । त्यस्तै, ‘ल जोला फेसन फिल्म फेस्टिभल’ की रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत रहेकी लेखक तथा निर्मात्री मिमी मचाडो लुसेस् सदस्य रहेका छन् ।

महोत्सवको रेड कार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघ संस्थाका व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो । महोत्सवमा उत्कृष्ट चलचित्रलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ ।

प्रतिक्रिया