विसंगतिप्रति असहमति

प्रारम्भ
समाजका विकृति, विसंगति तथा बेथितिविरुद्ध आवाज उठाइएका निबन्धको सँगालोको रूपमा ‘बादलका रेसाहरू’ प्रकाशन आएको छ । मानवीय व्यवहार र त्यसले समाजमा पारेको प्रभावलाई निकै तार्किक ढंगले निबन्धकारले उठान गरेका छन् ।

यसमा म स्वतन्त्र भई बोलेको छु । मेरो बोलाइमा कुनै आग्रह छैन । म विशुद्ध आफ्नो अनुभव र अनुभूतिमा केन्द्रित छु । समसामयिक यथार्थका नजिक रहेर रचिएका यी निबन्ध रचना मोन्तेनको परिभाषाअनुरूप छन् भन्ने मेरो ठम्याइ छ । यी रचनामा कतै साहित्यिक विचारसित, कतै सामाजिक व्यवहारसित, कतै सांस्कृतिक दृष्टिकोणसित, कतै विसंगतिहरूमा असहमति जनाउने व्यंग्यका झटाराहरूसित प्रस्तुत हुने प्रयास गरेको छु । (बादलका रेसाहरू पुस्तक्यौलीबाट)

पुस्तकको शीर्षक हेर्दा स्वच्छन्दतावादी, कल्पनाको दौडमा हिँडेको जस्तो लाग्ने तर पुस्तकभित्रका अर्थात् शीर्षकभित्रका पाठहरू हेर्दा अत्यन्त वस्तुपरक लेखन, गहन अभिव्यक्ति कौशल तथा सरल र संक्षिप्त वाक्य रचना सायद यति नै हो यस निबन्ध संग्रहको मूलभूत विशेषता पनि ।

परिचयसँग जोडिने क्रम
मान्छे !
मान्छेले
मान्छेसँग
मान्छेकै जस्तो
व्यवहार जान्ने
मान्छे जातिलाई !

समर्पण गरिएको बादलका रेसाहरू निबन्ध संग्रहका लेखक हुन् छाँयादत्त न्यौपाने ‘बगर’ । खासमा यो निबन्ध संग्रह नै हो । किनकि मोन्तेनको परिभाषालाई भिडाएरै लेखक भन्छन्, ‘व्यवहारसित मैले जोडेको छु ।’ सत्याल पब्लिकेसनबाट २०६४ सालमा प्रकाशित यस निबन्ध संग्रह आवरणबाहेक ९०+६ पेज रहेको छ । जम्मा २३ ओटा लघु तथा मध्य आयामका रचनाहरूको शृंखलाबद्ध विन्यास यस संग्रहमा पाइन्छ । शीर्षक रखाइको आफ्नै मौलिक र कौतूहलजन्य छनोट पाइन्छ ।

आउँछ, सजाउँछ साहित्यले हाम्रा गाउँघर, अधिकार र कर्तव्य, वाङ्मय, समय, जस पाओस् बालसाहित्यलगायत सामान्य तर गहन बुझाइ शृंखलाबद्ध गर्न यो निबन्ध संग्रह देखापरेको छ । यस संग्रहभित्र जम्मा ४ अनुच्छेद भएको ‘निबन्ध’ नामक निबन्ध रहेको छ भने १६ अनुच्छेद रहेको बादलका रेसाहरूले स्वच्छन्दवादी भावलाई अत्यन्त कलापूर्ण अभिव्यञ्जनमा प्रस्तुत गरेको छ । २३ ओटा निबन्धका जम्मा १७६ ओटा अनुच्छेदले निबन्धको रमरम स्वाद मेट्ने र लेखनको गहिराइ भेट्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ ।

लेखकको संक्षिप्त परिचय वृत्त
२०२२ सालमा पर्वत जिल्लाको हुवासमा जन्मिएका छायादत्त न्यौपाने ‘बगर’ उपनामका लेखक हुन् । सगरमा चम्किन खोज्नेहरू बगरमा लडिरहेका छन् वा बगर बनेर सुस्ताइरहेका छन् भन्ने भाव अर्थात् सुस्क स्वरूप र आशा प्रत्याशाको पर्खाइको भू–भाग बगर । २०४० को दशकबाटै आफूलाई साहित्यमा सिर्जनाका माध्यमले चिनाउदैँ हिँडेका बगर झन्डै साढे दुई दशकको साहित्यिक यात्रामा जोडिएका स्रष्टा हुन् ।

आफ्ना मौलिक रचना थोक रूपमा प्रकाशन गर्नुपूर्व नै न्यौपाने सम्पादन कलामा जोडिएबाट उनमा आफूले केही गर्नुपर्ने भाव सरसंगत तथा संस्थागत पहिचान र उपस्थितिले दिएको सहजै प्रमाणित हुन्छ । त्यसैले छायादत्त न्यौपाने देखेर र सिकेर मिहिन ढंगले रचना सिर्जनामा दत्तचित्त एक प्रतिभा र व्यक्तित्व तथा अभ्यासको संगम बनेका साहित्यिक व्यक्तित्व हुन् । छायादत्तले यति थान पुस्तक यो÷यो शीर्षकमा लेखे यसको चर्चा गर्नुपर्दा परिचयको वृत्तमा छायादत्तलाई खोज्नु सान्दर्भिक हुन्छ । छायादत्त बालसाहित्य, समालोचना, कविता, कथा, नाटक, एकांकी मात्र होइन उनको त खासमा अझै बढी खुल्ने विधा रहेछ निबन्ध ।

भाषा सिकाइ, सीप र सिर्जनाको सैद्धान्तिक पर्याधार देखाउने मात्र नभई उनी त्यसलाई आफ्नो जीवनको परिचयमा नै जोड्न सक्ने सर्जक हुन् । अध्ययन, अनुसन्धान लेखन र प्रकाशन सबै क्षेत्रमा विगत एक दशकदेखि अत्यन्त सक्रिय छायादत्तले दुई दर्जनभन्दा बढी सिर्जनात्मक पुस्तक लेखिसकेका छन् । उनको परिचय बालसाहित्यमा पहिलो रूचि क्षेत्रका रूपमा देखिएकैले लगानी पनि बढी नै छ ।

यसका अतिरिक्त निबन्ध विधामा उनी राम्ररी पोखिएको थोरै अध्ययनबाट पनि प्रस्ट नै छ । यसका साक्ष्यका रूपमा कदर नभएपछि र बादलका रेसाहरू नै पनि पर्याप्त रहेका छन् । चुनिएका शब्द छोटा वाक्यमा उनिएका भावसहितका भाषाले नेपाली निबन्धयात्राका कम चर्चा पाएका एक आन्तरिक गुणले भरिपूर्ण दमदार रचना दिने व्यक्तिका रूपमा उनलाई ठम्याइसकेको छ । फुटानी जोडेर अरूलाई अर्तिउपदेश दिने नेता तथा सामाजिक व्यक्तित्व हुँ भन्नेहरूलाई व्यंग्यको झटारोले पानीपानी पार्न सक्ने क्षमता पनि उनमा रहेको देखिन्छ ।

साहित्यकार न्यौपानेको बालदिवस (कथा संग्रह २०६२) बाट नै नियमित पाठक भएकाहरूका निम्ति उनको लेखनगत उचाइले गरेको विकास सन्तोषलाग्दो खालको छ । चिन्तन र विचारलाई संख्यात्मकभन्दा गुणात्मक, आयामभन्दा बढी विचारको जडानमा चमत्कृति देखाउँदै अगाडि बढेका छन् । २०६८ सालसम्म आइपुग्दा सम्पादन तथा लेखनका झन्डै तीन दर्जन साक्षी–प्रमाण बोकेर उभिएका न्यौपाने व्यक्तिगत रूपमा सरल स्वभाव, मृदुभाषी तथा सहयोगी छन् ।

बादलका रेसा निबन्ध संग्रहभित्रका संरचना पक्ष
ऊ आउँछ । मलाई विश्वास छ, आफन्तहरूले पर्खिरहे ऊ कुनै शुभ मुहूर्तमा आउँछ, पक्कै आउँछ । (आउँछ, पृ. ३) लाग्छ यो निबन्धको बान्की गोपालप्रसाद रिमालको वैचारिक क्रान्तिकालीन कविताको स्वरूपको छ । आशा र आस्था जगाउने सुवासको आभास गराउने स्वभावको पनि छ । लाग्छ यिनका निबन्धले चर्चेको प्रस्तुतिगत क्षेत्र कसैले नदेखेको र नहेरेको क्षेत्र पनि हो । साना कुरालाई पनि मसिनो ढंगले उत्साहित हुँदै शब्द संयोजन गर्न सक्ने ‘बगर’ ले आफूलाई दम्भमा अहंकारमा नभई अनुसन्धान र मन्थनमा पोखेका छन् ।

निबन्धभित्रै अपूर्व परिभाषा दिँदै आगमनात्मक ढंगले ज्ञान–विज्ञानको स्थापनालाई उचित विन्यास गर्दछ्न । धर्म संस्कृति अमूर्त परम्पराले बचाउँदै ल्याएका तत्व हुन् । यिनीहरूको महत्व व्यक्ति तथा समूह विशेषमा सन्निहित रहेको पाइन्छ । असल मान्छेले धर्म संस्कृतिलाई बहुजन हिताय, बहुजन सुखाय भन्ने मर्मका रूपमा पत्याउँछन्, सभ्यताको सूचक ठान्छन्, सरल तरिकाले ग्रहण गर्छन् । आफ्ना नियमित गतिविधिमा धर्म, कर्म, संस्कृति, रहनसहनको प्रभाव देखाउँछन् । स्वार्थ, अहंकार, प्रतिशोध, मपाईत्वजस्ता दुर्गन्धले जीवनपद्धतिमा प्रवेश नपाऊन् भन्नेतर्फ सचेत रहन्छन् । (धर्म संस्कृति पृ. ३८–३९)

व्यवहार बिर्सेको मान्छेलाई व्यंग्य गर्न, सम्पादकलाई जिम्मेवार बनाउन र कम्प्युटरजस्तो आधुनिक युगको साथीको असल र सरल परिचय दिन उनका निबन्ध पर्याप्त छन् । भाषाको आवश्यकताभित्र भाषाको अनिवार्यता बादलका रेसाभित्र कल्पनाका तरंगको संयोजन, कलमभित्र सिर्जनशील क्षमताको गान गाउन सक्ने हैसियत थप्दै उनले सुगठित, सरल शब्द र वाक्य संरचनालाई प्रयोग गर्दै स्वीकृति र अस्वीकृति, विकृतिप्रतिको विमति सबै कुरालाई यस निबन्ध संग्रहभित्र उचित स्थान दिएका छन् ।

सम्पादनकको परिभाषाजस्तो पूर्ण र सार्वभौम बन्न खोजेको उनको निबन्धको चिनारी र निबन्ध सिर्जन कर्म कसैलाई अनावश्यक उचाल्ने र कसैको खेदो खन्ने प्रवृत्तिभन्दा भिन्न छ । जीवन र जगत्का सुन्दर र स्वीकार्य पक्षको बोधका लागि आवश्यक सहयोगी सिद्ध पनि छ । वाङ्मय जनताको मौलिक सम्पत्ति हो । जनपरिचायक साधनस्रोत पनि वाङ्मय हो । जनताको इतिहास हो, पुर्खाले सन्ततिका लािग साँचेको सम्पदा हो । राष्ट्रको अस्तित्व हो । मानवीय विचार विनिमयको साधन हो । यसको मर्म र उपयोगिताप्रति सजग, सचेत र इमानदार रहनु नागरिक दायित्व हो । (वाङ्मय पृ. १६)

सायद यही मूलभाव, आस्था र वास्ताका पक्षमा यी सर्जक सिर्जनामा जुटेका छन् र बालदका रेसा–रेसाजस्ता अनेकन दृश्य र रहस्यलाई जीवनसँग जोड्दै सजिलोतर्फ मोड्दै आफ्नो व्यक्तिगत जीवनभन्दा सार्वजनिक र राष्ट्रिय भाव धारामा समर्पित गर्दै छन् आफ्ना सिर्जना । अध्ययन, चिन्तन, मननभन्दा लेखन झन् संयमित बन्नुपर्ने सार्वभौम तथ्य वास्ता गर्दै टिप्पणी गर्ने कर्ममा भन्दा पाठकपरक भाव पस्कने हाम्रो दोष पक्ष घटाउन यस कलात्मक निबन्ध संग्रहले ठोस योगदान दिन सक्छ ।

प्रतिक्रिया