काठमाडौं । पछिल्लो समय उपत्यकामा एक खाले आक्रमणले सबैमा सन्त्रास उत्पन्न भएको थियो । विशेषगरी युवतीलाई लक्षित गरी गरिएको भनिएको सिरिन्ज आक्रमण । सडकदेखि सदनसम्म यो विषयले जोडतोडसँग आवाज उठिरहेको थियो ।
यो आक्रमण पत्ता लगाउन प्रहरीलाई निक्कै मुस्किल परिरहेको थियो । चर्चा चल्नुपूर्व नै प्रहरीमा यस्तै प्रकारका चार वटा उजुरी परिसकेको थियो । अज्ञात ठाउमा मोटरसाइकलमा आउने सिरिन्ज जस्तो तिखो वस्तुले युवतीको शरिरमा घोपेर जाने । प्रहरीले यो भन्दा अन्य जानकारी पाउन सकेको थिएन । प्रहरीले यसलाई निकै ठूलो इस्युको रूपमा सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । सुरुमा सबै युवतीलाई बोलाएर बयान लियो ।
बयानअनुसार घटना राति १० बजेको आसपास हुने गरेको पत्ता लगायो । तर, कसैले पनि मोटरसाइकलको नम्बर भने पत्ता लगाउन सकेनन् । अनुसन्धानलाई अगाडि बढाउँदै लैजादा प्रहरीले एउटा सिसिटिभी फुटेज फेला पा¥यो । झट्ट हेर्दा त्यो फुटेजमा केवल दुई सेकेण्डमा एउटा निलो नम्बरको प्लसमा आएका व्यक्तिले बाटोमा हिँडिरहेकी युवतीलाई केही वस्तुले घोचेर भागेको दृश्य देखिन्छ ।
न त मोटरसाइकलको नम्बर राम्रोसँग देखिन्छ । नत तिनको अनुहार नै देखिन्छ । सुरुमा प्रहरीले केही पत्ता लगाउन नसके पनि सोही भिडियोमा एउटा सुराक भने फेला पार्छ । निलो रंगको पल्सर मोटरसाइकलको तेल ट्यांकीमा रातो रंगको स्टिकर देखिन्छ । पछाडिको नम्बर प्लेटको मुनि पनि त्यस्तै स्टिकर टासेको फुटेजमा देखिन्छ ।
प्रहरीले त्यहीबाट अनुसन्धानलाई अगाडि बढायो । अहिलेसम्म घटना भएको ठाउँ र सम्भावित क्षेत्रमा सो मोटरसाइकल खोज्न सुरु गर्यो । बिहीबार साँझ तिर महाराजगञ्जको एक रेस्टुरेन्ट अगाडि त्यस्तै प्रकारको मोटरसाइकल फेला पार्यो । पछाडिको स्टिकर भर्खरै निकालेजस्तो टाटो थियो भने अगाडिको रातो स्टिकर भने प्रस्ट थियो ।
सोही आधारमा मोटरसाइकल कुरेर प्रहरी बसेको थियो । रेस्टुरेन्ट बन्द गरेर एक व्यक्ति सो मोटरसाइकल लिन आएपछि प्रहरीले उनलाई उक्त घटनाबारे साधेको थियो । तर, पक्राउ परेका व्यक्तिले आनाकानी गरेर घटनाको बारेमा थाहा नभएको बताए । प्रहरीले भिडियोसमेत देखाएपछि उनले ढाँट्न सकेनन् । पक्राउ परेका व्यक्ति थिए, रामेछाप घर भई काठमाडौं नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्की । ‘आफ्नो गल्ती सहजै स्वीकार गरेपछि पक्राउ गरेका हौँ,’ अपराध महाशाखाका डिएसपी रुगम कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेनलमा भने ।
रमाइलोका लागि रोपेको स्वीकार
सन्तोषले चैत्रदेखि यस्तो कार्य गरेको बताएका छन् । महाराजगन्जमा रहेको आफ्नो रेस्टुरेन्ट बन्द गरेपछि उनी राति १० बजेतिर आफू बस्ने ठाउँ नैकापतिर फर्कन्थे । फर्कने वेला आफ्नो रुटमा पर्ने सोह्रखुट्टे, क्षेत्रपाटी, पकनाजोल, टंकेश्वर लगायतका स्थानमा एक्लै हिड्ने युवतीहरू उनको निशानामा पर्दथे । युवतीहरू देखेपछि आफू उत्तेजित हुने गरेकाले तिखो वस्तु रोप्दै आएको उनले प्रहरीमा बयान दिएका छन् ।
सुरुमा कार्कीले चैतको अन्तिम साता तिखो वस्तु रोपेको अनुसन्धानबाट खुलेको छ । उनले सुरुमा गाडीको टायरमा हुने तार युवतीको शरीरमा रोपेको बताएका छन् । चैत अन्तिम साताबाट यसखाले आक्रमण गर्न थालेका उनले त्यसपछि वैशाख १५ गते फेरि युवतीलाई सुइरो रोपेका थिए । त्यसपछि बैसाख २९, जेठ १८ र जेठ २६ गते पनि उनको निसानामा युवती नै परे । जेठ २६ गते उनले जुन युवतीमाथि आक्रमण गरेका थिए, ती युवतीलाई कार्कीले चैत अन्तिम साता पनि तिखो वस्तु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ ।
जेठ ३० र ३२ गते उनले अन्तिम पटक सुइरो रोपेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा सामाचार आएपछि भने आफूले त्यस्तो कार्य छाडेको उनले बताएका छन् । उनले सुइरो रोप्न छाडेको १३ दिन भएको प्रहरीलाई बयान दिएका छन् । उनको बयान उद्धृत गर्दै डिएसपी होबिन्द्र बोगटीले भने, ‘यसरी भाइरल हुन्छ र पक्राउ पर्छु भन्ने लागेकै थिएन । कुनै रोग सार्नेभन्दा पनि रमाइलो लाग्ने भएकाले रोपेको हुँ ।’
कार्कीले प्राय युवतीको कम्मर, छाती र हिपमा सुइरो रोपेको पाइएको छ । हाफपेन्ट र छोटा कपडा लगाउने युवती नै उनको निसानामा पर्दै आएको प्रहरीले बताएको छ । उनी श्रीमतीसँगै बाइकमा रहँदा पनि युवतीलाई सुइरो रोप्ने गरेको अनुसन्धानबाट खुलेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका कार्की १२ वर्षदेखि काठमाडौंमा बसोवास गर्दै आएका व्यक्ति हुन् ।
०६९ सालमा कार्की साउदी अरब गएर पाँच वर्ष रोजगारी फर्किए थिए । कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०४७ को परिच्छेद ५ को दफा १०४ अनुसार कारबाही हुनेछ । उक्त दफा अनुसार कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने उल्लेख छ । सोहीअनुसार प्रहरीले मुद्दा अगाडि बढाएमा १० वर्षसम्म कैद र १ लाख जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया