नुवाकोट । शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनीले तरकारी खेतीबाटै वर्षको १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन । घरमा आयआर्जनको कुनै विकल्प नभएर विदेश जाने सोच बनाएर बसेका उनले पहिला आफ्नै ठाउँमा थोरै केही गरुँ, भएन भने मुग्लान भासिनु पर्ला भन्ने सोच बनाई काम शुरु गरेका थिए । उनले २० हजार ऋण लिएर २२ वर्ष पहिला दुईवटा टनेल बनाई तरकारी खेती गर्न शुरु गरे । उनले बारीमा गोलभेंडा, करेला, खुर्सानी लगायतका तरकारी लागाए । तरकारी लगाएको केही महीनापछि लगानीभन्दा बढी आम्दानी भयो । काम गर्ने जाँगर र सोच झन् बढेर गएको उनको भनाइ रहेको छ ।
पैसा कमाउन विदेश नै जान पर्दो रहेनछ भन्ने विचार आएपछि तरकारी खेती गर्ने जग्गा थपेर अब तरकारी नै खेती गर्छु भन्ने आँट उनले गरे । ‘पहिला त अहिलेको जस्तो सेवा सुविधाहरू कहाँ थियो र । यातायातको असुविधाले बजारको समस्या थियो । अहिले खेतमै तरकारी बोक्न गाडी आउँछ । अहिले बजार पनि यही त्रिशूली, बटार नजीकै पाइन्छ । स्थानीय बजारमा दिएर पनि बाँकी भएको तरकारी काठमाडौं लाने गरेको छु । तरकारी व्यापारीहरू आफैँ घरसम्म आउँछन् ।’
पुडासैनीले अहिले उनी ३० रोपनी जग्गामा ८३ वटा टनेलमा तरकारी व्यवसाय गरी एक करोडभन्दा माथि लगानी गरिरहेको उहाँ बताउनुहुन्छ । पुडासैनीले भने, ‘मैले आफ्नो परिवारसँगै बसेर आनन्दले छोराछोरीलाई पढाएर लाउन खान व्यवसाय गर्न पुगेको छ । तरकारी मौसमअनुसारको जस्तै गोलभेँडा, आलु, प्याज, लसुन, धनियाँ, सिमी, बोडी, खोर्सानी, फर्सी, भ्यान्टालगायतका तरकारीहरू लगाउने गरेको छु ।’ तरकारी खेतीबाटै राम्रो गरेको कारण मलाई कृषि विकास मन्त्रालयबाट २०७३ सालमा २८ लाख अनुदानसमेत पाएका थिए । उनले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ समेत प्राप्त गरे ।
पुडासैनी मात्र हैन नुवाकोट म्यागङ गाउँपालिका–३ का सोमबहादुर तामाङले पनि वैदेशिक रोजगारमा जाने सोच त्यागेर विगत १५ वर्षदेखि तरकारी खेतीमै आफनो जीवनको हरेक समय बिताइरहेका छन् । तामाङले शुरुमा ४० हजार रुपैयाँको लगानीमा दुईवटा टडेलबाट तरकारी खेती गरेको उनले बताए । तामाङले भने, ‘मैले जीवनमा धेरै दुःख पाए म्यागङ गाउँ पहिला अति नै दुर्गम ठाउँ थियो । केही गरुँ भन्ने मनमा छ । हाम्रो गाउँमा पानीको सुविधा भएकाले तकारी खेती गर्ने विचार आयो । ४० हजार रुपैयाँ ऋण मागेर ल्याएँ । गाउँघरमा कसैले नपत्याएपछि ससुरालीबाट उहाँले ऋण लिएको थिएँ ।’
उनले भने, ‘मैले त्यही ऋणबाट ल्याएको पैसाबाट दुईवटा टनेल बनाएर तरकारी खेती गर्न शुरु गरें । आप्mनो मिहिनेत, परिवारको राम्रो साथबाट आजसम्म आइपुग्दा सात रोपनी जग्गामा ५० वटा टनेल बनाई तरकारी खेती गरी जिल्लामा राम्रो तरकारी कृषकका रूपमा आफूलाई चिनाउन पाउँदा अति नै खुशी भएको छु ।’
आफूसँग जाँगर र सीप छ भने खाडी मुलुक जान नपर्ने उनको भनाइ छ । काम गर्ने मन र सोच भए यहीँ नै स्वर्ग छ । अहिले उनको बारीभरि मौसमअनुसारको तरकारीहरू फलिरहेका छन् । उनले यो वर्ष मात्रै खर्च कटाएर १३ लाख आम्दानी गरेको बताए । तरकारी कृषक बनेर तरकारीमा राम्रो गरेकाले कृषि मन्त्रालय अन्र्तगत आठ लाख ३४ हजार अनुदान पाएको उनले जानकारी दिए ।
सोही ठाउँका सेल्कर तामाङले पनि विदेशी जीवन त्यागेर आप्mनै ठाउँमै बसेर केही गर्ने सोचले ११ वर्ष विदेशमा बिताएर गाउँ फर्किए । गाउँ फर्केर तामाङले पनि तरकारी खेती गरे । तामाङका अनुसार उनी मलेसियामा आफनो ११ वर्ष बिताउँदा खान पनि नपुग्ने कमाई भएको र निराश हुँदै स्वदेश फर्केको थिए ।
उनले भने, ‘मैले आफनो बल, जोस, जाँगर र मिहिनेतहरू ११ वर्ष अर्काको देशमा बिताए । टाउकोभरि ऋणको थुप्रो बोकेर नेपाल आएँ । साथीभाइ र परिवारको सल्लाहसुझावले म तरकारी कृषक बने । शुरुमा मैले पनि सात रोपनी जग्गामा तरकारी खेती गरे । पछि तरकारीबाट राम्रो फाइदा भएपछि पाँच रोपनी जग्गा किनेर १३ रोपनीमा १७ लाख लगानी गरी तरकारी खेती गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ । मैले यो वर्ष रु सात लाख आम्दानी गरेको छु ।’ नुवाकोटका वरिष्ठ कृषि अधिकृत तरकारी क्षेत्र कमलराज गैरेका अनुसार नुवाकोटमा अहिले तरकारी खेतीमा कृषकहरूको आकर्षण बढिरहेको छ । करोडौंभन्दा माथिको लगानीमा कृषकहरूले तरकारी खेतीमा लगानी गरेको उनी बताउछन ।
प्रतिक्रिया