दाङ । तीन वर्ष जति निल काटा र सैंजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगरमा अहिले हिरयाली छाएको छ । हरियो बोटमा लटरम्म फलेको कागती छ ।
दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरूको ध्यान हरियालीले मात्र होइन लटरम्म फलेका कागतीले पनि तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँले पनि बारम्बार कागती खेती हेर्न पुग्ने गरेका छन् ।
गढवा गाउँपालिका–३ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले व्यावसायिक रूपमा गरेको उन्नत जातको कागती खेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा पनि बढाइदिएको छ । उनले डिएण्डके सिट्स कृषि फार्म खोलेर व्यावसायिक रूपमा उन्नत जातको कागती खेती गर्न थालेका हुन । विसं २०७४ मा यहाँको १० बिघा जमीन २५ वर्षका लागि भाडामा लिएर शुरुमा २० लाख लगानी गरी व्यावसायिक रूपमा उन्नत जातको कागती खेती थालेको कृषक चौधरी बताउछन । उनले १० बिगा जमीनमध्ये साढे छ बिघामा कागती खेती गरेका छन, भने अन्य जमीनमा रेशम खेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट ‘सुन कागती–१’ र ‘सुन कागती–२’ नामका उन्नत जातको तीन हजार कागतीका बिरुवा खरीद गरी खेती थालेको उनको भनाइ छ ।
सो जग्गाको वार्षिक दुई लाख भाडा तिर्ने उनले अहिले दुई जनालाई पूर्णरूपमा र सात जनालाई आंशिकरूपमा रोजगारी दिइरहेका छन । ‘दुई वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि शुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । यसपटक भने कागतीको राम्रो आम्दानी हुन्छ भन्ने आशमा छु ।’ उनले भने, ‘बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो तर मैले अहिले क्याम्पसमा पढ्दै यो पेशा रोजेको हूँ ।’
आफूलाई यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गाउँपालिकाले रु तीन लाख र घोराहीस्थित कृषि ज्ञान माला केन्द्रले दुई लाख अनुदान उपलब्ध गराएको कृषक चौधरीले बताए । उनको कागती फाराम यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले सञ्चारकर्मी, सर्वसाधारण, कृषक र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१० स्थायी घर भई हाल गोबरडिहामा डेरा गरी बस्ने तेजप्रसाद शर्मा आफू चौधरीले गरेको कागती खेती देखेर निकै उत्साहित भएको बताउछन । उनले भने, ‘म यहीँ नजिकैको गाउँमा बस्छु प्रायः बेलुकी घुम्न कागती खेतीमा नै आउने गरेको छु । दुई वर्षअघि मात्र निकै ठूलो झाडी थियो तर अहिले हेर्दाहेर्दै कागतीको बगैँचा बन्यो ।’
नेपालमा ८० प्रतिशत कागती भारतलगायत देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकाले आफूलाई यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको कृषक चौधरी बताउछन । पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागती खेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतीमा लागेको उहाँको भनाइ छ ।
प्रतिक्रिया