जनशक्ति अभावमा काम प्रभावित

काठमाडौं । केही दिनअघि फलफुल तथा तरकारी बोकेर भारतबाट नेपाल भित्रिँदै गरेका ११ वटा ट्रक नाकामा रोकिए । विगतमा कहिले नरोकिने यस्ता ट्रक नाकामा रोकिएपछि खैलाबैला भयो । नेपालले किन यसरी ट्रक रोक्यो भनेर । त्यसको कारण थियो, विषादीको प्रयोग ।

उपभोक्ताको निक्कै गुनासो रहने गरेको छ कि बजारमा पाइने फलफुल तथा तरकारी विषादीले भरिएका हुन्छन् । यस्तो गुनासो आएपछि सरकारले अहिले विषादी परीक्षण अनिवार्य गरेको छ । तरकारी भित्रने नाकामा सरकारले मेसिनबाट परीक्षण गर्दै आएको छ । नेपाल–भारत सीमाको जमुनाहा नाकाबाट भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि आइतवार ट्रकहरू रोकिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परीक्षणबिना फलफूल तथा तरकारी नेपाल भित्र्याउन रोक लगाएको छ ।

विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ नेपालगञ्जका अनुसार नाकाबाट आएका फलफुल तथा तरकारीको गुणस्तर परीक्षण सुरु गरिएको छ । वाणिज्यको पत्रअनुसार अब गुणस्तर जाँचपछि मात्रै फलफुल तथा तरकारी नेपाल भित्र्याउन पाइने छ । यसअघि भन्सारबाट निर्वाधरूपमा भित्रिने फलफुल तथा तरकारीको विषादी परीक्षण अनिवार्य गरिए पनि त्यसको जाँचका लागि नेपालगञ्जमा पर्याप्त व्यवस्था भने गरिएको छैन ।

नेपालगन्जमा विषादी द्रुत विश्लेषण एकाइले फलफुल तथा तरकारीको गुणस्तर जाँच गरिरहेको छ । नयाँ व्यवस्थापछि परीक्षणका लागि आउने फलफुल र तरकारीको चाप बढेको छ । विषादी अन्वेषण दु्रत विश्लेषण एकाइका प्रमुख सकिल अहमदले भने, ‘आइतबार आएका ११ वटा ट्रकको नमुना परीक्षण गरी पठाएको छु, सोमबार पनि २२ ट्रकका ४० वटा ट्रकका नमुना परीक्षणका लागि आएका छन् ।’ सो एकाइमा कामको चाप बढे पनि सकिल एक्ला कर्मचारी हुन् । बढ्दो चाप थेग्नका लागि थप चार जना कर्मचारी आवश्यक पर्ने उनले बताए । ‘एउटा नमुना परीक्षणका लागि करिब ३० मिनेटसम्म लाग्छ’, उनले भने, ‘परीक्षणका लागि आउने नमुना बढ्दै जाने हो भने थप कर्मचारी आवश्यक पर्छ ।’

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले गुणस्तर परीक्षण नभएका मालवाहक ट्रकको जाँच पास रोकेको बताए । ‘भन्सारमा आउने तरकारी तथा फलफुलको नमुना संकलन गरेर विषादी दु्रत विश्लेषण एकाइ परीक्षणका लागि पठाइने गरेको छ’, उनले भने, ‘परीक्षणमा विषादी फेला परे सामानको जाँचपास गरिने छैन ।’

विषादी परीक्षणका कारण भन्सारबाट वस्तु भित्रिन थप समय भने लाग्नेछ । नेपालगञ्ज भन्सार भएर विभिन्न जिल्लाका लागि दैनिक सरदर १० वटा तरकारी तथा फलफुलका ट्रक भित्रिने गरेका प्रमूख निरौलाले बताए । उनले विषादी छ÷छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकलाई जाँचपास दिने गरेको बताए । ‘विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाउँछौँ’, उनले भने । भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दुरीमा रहेको रानी तलाउमा विषादी अन्वेषण दु्रत विश्लेषण एकाइको कार्यालय रहेको छ ।

विषादी अन्वेषण दु्रत विश्लेषण एकाइका प्रमुख अहमदले परीक्षणका क्रममा विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई खान नमिल्ने बताए । ३५ देखि ४५ प्रतिशतसम्म भएमा क्यारेन्टाइन गर्नुपर्ने र त्यसभन्दा माथि भएमा डिस्पोज नै गर्नुपर्ने उनले जानकारी दिए । नेपालमा प्रतिबन्धित क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिन्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इन्डोसल्फेन जस्ता विषादी अवैध रूपमा विक्री वितरण हुने गरेका र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् ।

तर, अहिलेसम्म परीक्षण गरिएका नमुनाहरू खान योग्य रहेको पाइएको छ । तरकारी तथा फलफुलमा गरिएको विषादीको मात्रा परीक्षणका क्रममा सबै तरकारी एवं फलफुल खानयोग्य रहेको पाइएको हो । विभिन्न नाकाबाट काठमाडौंको कालीमाटीमा आएर परीक्षण गरिएका र कैलाली नाकाबाट भित्रिएका फलफुल खानयोग्य रहेका विषादी अवशेष द्रुत विश्लेषण इकाइले जानकारी दिएको छ । विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर बिक्री वितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ । विषादीयुक्त तरकारी र खाद्यान्न प्रयोगले श्वासप्रश्वास, छाला, नसाका साथै स्मरणशक्ति, प्रजनन् क्षमतामा असर पर्ने बताइएको छ ।

प्रतिक्रिया