‘चलचित्रमा नृत्य’ कार्यशाला

काठमाडौं । नेपाल चलचित्र नृत्य संघले एकदिने ‘चलचित्रमा नृत्य’ कार्यशाला सम्पन्न गरेको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्ने नृत्यकारलाई संघले नृत्य र चलचित्रका बारेमा कार्यशाला गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन चलचित्रको मुहूर्त शैलीमा गरिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामालगायतले नेपाल चलचित्र नृत्य संघले गरेको कार्यशालाका निम्ति शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोर्डका अध्यक्ष भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठी हुन जरुरी रहेको बताए । उनले भने, ‘संघ–संस्थाहरू मर्यादित भएर आफ्ना सदस्यलाई सिस्टममा ल्याउन जरुरी छ ।’ उनले चलचित्रले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकासका लागि बोर्डले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले थपे, ‘चलचित्रमा नृत्यको भूमिका विशिष्ट रहेकाले यसलाई अझ सिर्जनशील बनाउन प्रभावकारी काम गर्नुपर्दछ ।’

नेपाल चलचित्र नृत्य संघका वसन्त श्रेष्ठले कार्यशाला छिटो–छरितो तवरले छायांकन गर्ने तरिकाबारे जानकारी दिन सफल भएको जनाए । उनले मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, संगीत आदिको ज्ञान आर्जन हुनुका साथै कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्रकर्मीलाई फाइदा पु¥याउने बताए ।

गोविन्द प्रभात कार्यक्रम संयोजक रहेको कार्यशालाको प्रशिक्षकमा क्यामेरामा गौरीशंकर धुजु, निर्देशकमा लक्ष्मीनारायण शर्मा, नृत्यमा कमल राई र राजु शाह रहेका थिए । अच्युत घिमिरेले नृत्यको इतिहासमाथि प्रकाश पारेका थिए । कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तिको सहभागिता रहेको थियो । सहभागीले कार्यशाला निकै उपयोगी रहेको बताए । नेपाल चलचित्र नृत्य संघले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक प्रभातले जानकारी गराए । कार्यशालाको मोटिभेटरमा अस्तिभा शास्त्री र डिपी आत्रेय रहेका थिए ।

प्रतिक्रिया