युवाले निकाले हावाबाट विजुली

सल्यान । सल्यानमा एक युवकले हावाबाट विजुली निकालेका छन् । जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८ बर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन् ।

साहुटोलमा इलेक्ट्रिोनिक पसल गर्दै आएका कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गरेका थिए । दुईपटक प्रयास गर्दा असफल भएको र तेस्रोपटक प्रयास गर्दा सफल भएको उनले बताए । ‘बत्ती बाल्नको लागि ४ दिनसम्म निरन्तर मेहनत गरेपछि सफल भएको हुँ’ उनले भने ।

अहिले उनले घरको आँगनमा फलामको लामो डन्डीमा पुराना सिडि (चक्का)लाई पंखाको रूपमा बनाएका छन् । हावाले ती पंखालाई चलाएपछि भने बत्ती बल्ने गर्दछ । ‘पंखा घुम्ने ठाउँमा व्यारिङ लगायतका सामग्री राखेको र त्यसमा तार घर्षण भएर विद्युुत्को ऊर्जा आउँछ’ उनले भने । उनका अनुसार पंखाबाट आएको ऊर्जालाई ब्याट्रीमा जम्मा गर्न सकिन्छ ।

अहिले यो पहिलो परीक्षण भएको र अब यही प्रविधिबाट ठूलो खालको ऊर्जा निकाल्न सकिने उनको भनाइ छ । धेरै हावा चल्ने ठाउँमा यसबाट विद्युुत् निकाल्न सकिने उनले बताए ।

अहिले परीक्षणको लागि बनाएको बालेको बत्ती सामान्य आफ्नै खर्चमा बनाएको उनले बताए । ‘अब ठूलो खालको विद्युुत् पनि निकाल्न सकिन्छ । त्यसका लागि खर्च पनि धेरै लाग्न सक्छ । सम्बन्धित वडा र नगरपालिका र सरकारले सहयोग ग¥यो भने हावाबाट जताततै झिलिमिली बनाउन सकिन्छ ’, उनले भने, ‘सोलारभन्दा हावाको बिजुली ८० प्रतिशतभन्दा धेरै प्रभावकारी हुन्छ ।’

उनले भने, ‘मैले आफ्नै दिमागबाट यो काम गरेको हुँ, पहिला कक्षा ६ मा पढ्ने वेला पनि गोबरबाट रेडियो बज्ने बनाएको थिए ।’ उनले अब सल्यानको दुर्गम गाउँ निगालचुलामा हावाबाट विद्युत् निकाल्ने बताए । हावाबाट विजुलीको लागि निगालचुला उपयुक्त ठाउँ भएको उनको भनाइ छ । सरकारले सहयोग गरेको खण्डमा म हावा धेरै दुर्गम गाउँ निगालचुलालाई झिलिमिली बनाइदिन सक्छु ।
चोर पसे बज्ने साइरन पनि

उनले आफ्नो पसलमा पनि चोर पत्ता लगाउने अटो साइरन बनाएका छन् । चोरले ढोका खोल्नबित्तिकै ठूलो तरंगमा साइरनको ध्वनि बज्ने गर्दछ । यसले एकपटक रातिमा आफ्नो पसल चोरी हुनबाट समेत बचाएको उनको भनाइ छ । साइरन बज्नासाथ पसल वरपरका मानिस उठेको र चोर भागेको उनले बताए ।

अटो साइरन सल्यानमै आफूले पहिलो पटक बनाएको उनले दाबी गरे । यो अहिले साहुटोलमा उनकोसँगै दुईवटा पसलमासमेत जोडिएको छ । वडासदस्य शंकर गिरीले यो काम आफ्नो नगरपालिका र जिल्लामा नमुना र पहिलो भएको बताए । उनले भने, ‘उहाँले पहिलेदेखिनै यो काममा निकै मेहेनत गर्नुभएको थियो । अहिले सफल हुनुभएको छ ।’ सो हावाबाट निकालिएको बत्तीको विषयमा वडामा पनि कुरा भएको र त्यसमा वडाले पनि केही सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया