पाल्पाको रम्भा गाउँपालिकामा युवालाई रोजगार

पाल्पा । रम्भा गाउँपालिकाका १०० युवाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाएका छन् । रोजगारीका लागि युवालाई आवेदकमध्येबाट रोजगारी उपलब्ध गराइएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकामाम रु १४ लाख बजेटबाट स्थानीय तहमा युवाले रोजगारी पाउन सफल भएका हुन् । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार उक्त कार्यक्रमअन्तर्गत हदिखोला रानीबास मोटरबाटो स्तरोन्नतिका लागि ४० युवा, असर्दी रानीबास मोटरबाटोमा ३० युवा र बेलपानी मौलादार मोटरबाटो स्तरोन्नतिका ३० युवालाई रोजगारी प्रदान गरेको छ ।

रोजगारी पाउनेलाई दैनिक रु ६०० ज्याला रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले थप ५५ युवालाई रोजगारी प्रदान गर्ने तयारीमा रहेको छ । पाल्पा रम्भा गाउँपालिकाको हुँमीनमा २५ र ताहुँ क्षेत्रमा ३० लाई रोजगारी प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीको भनाइ छ ।

रोजगारी पाएका कामदारले आफ्नो क्षेत्रमा सडकको पहिरो हटाउन, नालीलाई व्यवस्थित बनाउने र घुम्तीहरु फराकिलो बनाउँदा यातायातका साधन सञ्चालनमा सहज हुने गाउँपालिका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया