प्रजातान्त्रिक योद्धा थापाको निधन

बर्दिवास । महोत्तरी जिल्लाका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता गङ्गाविक्रम थापाको ७२ वर्षको उमेरमा निधन भएको छ । जिल्लाको औरही नगरपालिकाको सोनामाई टिम्कीयामा जन्मेर त्यहीँबाटै राजनीतिक गतिविधि थालेका थापाको गएराति काठमाडौँमा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

विसं २००४ मा जन्मीएका थापा किशोरावस्थादेखि नै नेपालको वामपन्थी आन्दोलनमा सरिक थिए । पछिल्लो समय स्वास्थ्यका कारण थापा काठमाडौँ बस्दै आएका थिए । शुक्रबार स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको भतिजा कुमुदविक्रम थापाले जानकारी दिए ।

पञ्चायतकालमा जनपक्षीय उमेदवार भई महोत्तरीको तत्कालीन सोनामाई गाउँ पञ्चायतको प्रधानपञ्च र भाहा गाउँ पञ्चायतको उपप्रधानपञ्च भएका थापा लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) को जिल्ला प्रमुख थिए ।

विसं २०४६ को आन्दोलन भने राष्ट्रियताविरुद्ध रहेको बताउँदै थापाले कम्युनिष्ट पार्टीसँगको सम्बन्ध तोडेका थिए । स्व थापाको काठमाडौँ पशुपतिमा आजै अन्तेष्टि गरिएको परिवारजनले बताएका छन् । स्व थापाका एक श्रीमती र सात छोरी छन् ।

प्रतिक्रिया