‘अध्ययनपश्चात मात्र लगानी गर्नोस्’

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बजारको अध्ययन गरेर मात्र पूर्वाधार एवं उद्योगमा लगानी गर्न उद्योगीहरूलाई आग्रह गरेका छन् । उनले बजारको अध्ययन नगरी लगानी गर्दा लगानी जोखिममा परेको भन्दै बजारको आवश्यकता र उपभोक्ताको मागअनुसार पूर्वाधार एवं उद्योगमा उद्योगीले लगानी गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसंघले बुटवलमा आयोजना गरेको एकदिने प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सफल भएकाहरूलाई पछ्याउने तर बजारको अध्ययन नगरी लगानीको क्षेत्र खोज्ने परम्पराकै कारण लगानी जोखिममा पर्ने गरेको बताए । उनले कतिपय उद्योगीहरूको व्यवस्थापकीय क्षमता र अध्ययनविना उद्योग सञ्चालन गर्ने गरेको भन्दै अध्ययनविना गरिने कार्यले उत्पादन लागत घटाउन नसकिनेसमेत बताए ।

उनले बाैंकिङ प्रणालीमा आधारित भएर पुँँजी परिचालन गर्नसमेत उद्योगीहरूलाई आग्रह गरे । बैकिङ प्रणालीबाहेक बाहिरबाट पुँजीलाई परिचालन गर्दा पनि जोखिम बढ्ने भएकाले बाहिरबाट पुँजी परिचालन नगर्न उनले आग्रह गरे । बैंकिङ प्रणालीको सुनिश्चितता नहुँदासम्म पूर्वधार क्षेत्रको लगानी सम्भव नभएको समेत उनको भनाइ छ ।

त्यस्तै, उनले प्रदेश–५ मा लगानीको सम्भावना अत्यधिक भएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि यस क्षेत्रमा पूर्वाधार विकासमा फड्को मार्ने बताए । उनले हाउजिङ, कृषि, पर्यटन, सोलार प्लान्टमा राम्रो सम्भावना रहेकाले लगानीका लागि उद्योगीलाई आग्रह गरे । भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले लगानीको सम्भावना प्रदेशमा रहेको भन्दै उद्योगीहरूले चासो लिनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले राष्ट्रिय पूर्वाधार सम्मेलन २५ र २६ भदौमा गर्न लागिएको भन्दै त्यसैको सन्दर्भमा प्रदेशस्तरीय पूर्वाधार परियोजनाहरूको पहिचानका लागि छलफलको आयोजना गरिएको उनले बताए । सन् २०१४, ०१७ मा पूर्वाधार सम्मेलन भइसकेको बताउँदै भदौमा ‘दिगो विकासका लागि दरिलो पूर्वाधार’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय पूर्वाधार सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा योजना आयोगका सदस्य विष्णु पोखरेल, रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम नेपाल उद्योग परिसंघका प्रदेश–५ संयोजक एजाज आलमको अध्यक्षतामा नेपाल उद्योग परिसंघका निर्देशक हिमाल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया