काउन्सिलमा हजार कलाकृति

काठमाडौं । नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा पाका पुस्तादेखि बालबालिकाका चित्र तथा मूर्ति राखिएको छ ।

समसामयिक राजनीतिक तथा सामाजिक घटनाका विषयदेखि धर्म, संस्कृति तथा जनजीवनका विविध आयामलाई कलाकारले क्यानभासमा उधिनेका छन् । अल्फ्रेस्को मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बबरमलस्थित आर्ट काउन्सिलमा आयोजना गरेको दुई हप्ते कला प्रदर्शनीमा पाँच सयभन्दा बढी पाका तथा नवपुस्ताका कलाकारका कलाकृति राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नबिल बैंकका प्रमुख कार्यकारी प्रमुख अनिलकेशरी शाहले कलाले समाजलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे । उनले भने, ‘अल्फ्रेस्कोले गरेको यस प्रतियोगितात्मक कला प्रदर्शनीले नयाँदेखि पाका पुस्तालाई एक ठाउँमा जोड्न सफल भएको छ ।’

प्रदर्शनीका संयोजक श्यामकृष्ण श्रेष्ठले पाँच सय स्कुलका आठ सयवटा र अग्रज कलाकारका समेत गरेर एक हजार कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले भने, ‘यस प्रतियोगितात्मक प्रदर्शनीले सबै पुस्ताका कलाकारलाई एकैथलोमा ल्याउन सफल भएको छ । साथै प्रदर्शनीमा नेपाली समाजका विविध आयाम र परिवशेलाई कलात्मक रूपमा समेटिएको छ ।’

उनले स्कुल, कलेज तथा अग्रज कलाकारका कलाकृतिले नेपाली समाजको परिवेश बुझ्न र सिर्जनशील पक्ष उजागर गर्न प्रदर्शनी कोसेढुंगा सावित भएको जिकिर गरे । प्रदर्शनीमा शशीविक्रम शाह, गेहेन्द्रमान अमात्य, शंकरराज सिंह सुवाल, जीवन राजोपाध्याय, सुषमा राजभण्डारी, रमेश खनाल, देवेन्द्र थुम्केली, अजित साह, राजेश मानन्धर, राजकृष्ण महर्जन, दीपेन्द्र बनेपाली, विक्रम प्रजापित, गजेन्द्रमान श्रेष्ठ, राजकुमार रानामगर, किशोर नकर्मी, बिपना महर्जन, डिना श्रेष्ठ, राकेश श्रेष्ठ, सुनिलबाबु कार्की, झलक केसी, देवांशी काफ्ले लगायतका कलाकारका कलाकृति राखिएको छ ।

प्रदर्शनीमा विद्यालय मात्र नभएर २३ वटाभन्दा बढी कलेजको विद्यार्थीका कलाकृति पनि प्रदर्शनीमा राखिएको आयोजक सदस्य दीपा विश्वकर्माले जानकार दिइन् ।

प्रतिस्पर्धामा सहभागी विद्यालय तथा कलेजका विद्यार्थीका उतकृष्ट ठहरिएका कलाकृतिलाई प्रदर्शनीमा राखिएको कार्यक्रमका संयोजक श्रेष्ठले बताए ।

प्रदर्शनीमा हिमालयन कलेजका दीपेश सिजाली मगरको थाङ्का चित्रले प्रथम पुरस्कार प्राप्त गर्न सफल भयो । ख्वपः इन्जिनियरिङ कलेजका राहुल प्रजापतिको देवी कुमारीको चित्र द्वितीय र लिंकन कलेजकी आकांक्षा सिंहको स्वयम्भूनाथको चित्रले तृतीय स्थान हासिल गर्न सफल भए भने, मनिष ध्वजु, नमुन तामाङ मनोग्य विश्वकर्माले सान्त्वना पुरस्कार पाउन सफल भए । त्यस्तै, विद्यालयस्तरीय प्रतिस्पर्धाबाट १ देखि ४ कथासम्मको समूह ‘क’ बाट रोहना प्रधान प्रथम, सुक्रिया तामाङ, द्वितीय, संयम अधिकारी तृतीय तथा अक्षब्य गुरुङ, अरिस्का पोखरेल र युवानी सिंहले सान्त्वना पुरस्कार पाए ।

५ देखि ७ कक्षासम्मको समूह ‘ख’ बाट तमना अग्रवाल, निकेश बस्नेत, अस्मिना राई क्रमशः प्रथम, द्वितीय, तृतीय भए । स्तुति मूल, अलिशा आले र निशान्त लामाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । त्यसैगरी, ८ देखि १० सम्मको समूह ‘ग’ बाट देवांश अग्रवाल, खुश्वु तामाङ, नेहिका महर्जन, क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने अदिती शेर्पा, बिलिशा देलाल र अरीया तण्डुकारले सान्त्वना पुरस्कार पाए । प्रदर्शनी असार १२ सम्म रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया