काठमाडौं । नेपाली जलरंगी कलाकारको प्रतिनिधित्व गर्दै सात जना कलाकारले अन्तर्राष्ट्रिय कला कार्यशालामा भाग लिएका छन् । भारतको कोलकातास्थित ताजपुरमा आयोजना गरिएको इन्टरनेसनल वाटरकलर कार्यशालामा उनले नेपाली संस्कृति झल्किने कलाकृति रचना गरे । कार्यशालामा नेपाल, भारत र बंगलादेशका युवा तथा ख्यातिप्राप्त ७० कलाकारको सहभागिता रहेको थियो ।
जेठ २६ गतेदेखि सुरु भएको तीनदिने कार्यशालामा नेपालबाट कलाकार केशवराज खनालको नेतृत्वमा कृष्णगोपाल श्रेष्ठ, रवीन्द्र मानन्धर, मनोज तामाङ, गोपाल दराई, रसिक राई र छवाङ लामा सहभागी भएका थिए । प्रतियोगितात्मक सो कार्यशालामा नेपाली कलाकार दराईले बेस्ट फाइभ र कृष्णगोपालले स्पेसल अवार्ड जित्न सफल भए ।
कार्यशालाको अवधिमा ख्यातिप्राप्त कलाकारले ‘डेमोस्ट्रेसन पनि दिएका थिए । नेपालका केशवराज खनाल, भारतका प्रवीन कुमार, मोमिता घोष र बंगलादेशका कौसर हुसैनले कलाकृति रचना गरे । त्यस्तै, बंगलादेशी कलाकार मिन्टु डे, भारतीय कलाकार पोलास दत्ता, प्रशान्त खतुवा र मासुद हुसैनले समेत कला सिर्जना गरेका थिए । नेपाली कलाकार खनालले काठमाडौं उपत्यकाको संस्कृति, पुरातात्विक वैभव, रहनसहन र परिवेशलाई चित्रमा उतारेका थिए ।
कार्यशालामा तीन देशका ७० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी हुँदा निकै ऊर्जा प्राप्त गरेको र नेपालमा पनि यसप्रकारको कार्यक्रम आयोजना गरिनुपर्ने कलाकार मनोज तामाङले बताए । देश विदेशका ख्यातिप्राप्त कलाकारको कला हेर्न पाउनु र साथमा बसेर कला सिर्जना गर्न पाउँदा निकै उत्साहित भएको कलाकार तथा कार्टुनिस्ट रवीन्द्र मानन्धरले बताए ।
बंगलादेशको ‘फोकस बंगलादेश’ भारतको ‘स्पेस कन्टेम्पोररी’ को आयोजनामा भएको उक्त कार्यक्रमलाई ‘इन वाटरकलर म्युजियम’ ले सघाएको थियो । विभिन्न देशका कलाकारबीच गरिने कार्यशालाले सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने आयोजक कौसर हुसैनले बताए । नेपाली जलरङ अहिले निकै सशक्त हुँदै आएको र नेपाली कलाकारले विश्वस्तरीय कला सिर्जना गरेको आफूले पाएको इन वाटरकलरका भारत प्रतिनिधि प्रवीणकुमारले जनाए ।
प्रतिक्रिया