सुनौलो मौका पाएको अनुभव भयो

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो आयुष केसी । सानोमा गीत संगीत नभए खाना नै खान नमान्ने स्वभावका आयुषले तीन वर्षको कलिलो उमेरदेखि नै संगीतमा रुचि देखाए । उनको यो इच्छालाई परिवारले संगीत सिक्ने वातावरण सिर्जना गरिदियो । २०६३ साल साउन ८ मा काठमाडौंमा जन्मिएका आयुषको स्थायी बसोबास सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ मा रहेको छ । १२ वर्षीय बालगायक आयुषले ०७३ सालमा नेपालको प्रथम बालगायन रियालिटी सो ‘सुरशाला आइडल’ को बिजेता बनेका थिए । उनले पछिल्लो समयमा भारतको मुम्बईमा केही दिनअघि सम्पन्न ‘सारेगम लिटिल च्याम्प्स’ मा फाइनल चरणसम्मको यात्रा पूरा गरी चौथो स्थान हासिल गरे । उनीसँगै सो प्रतियोगितामा नेपालकै अर्का बालगायक प्रितम आचार्य सेकेन्ड रनरअप भएका थिए । गायन यात्राका बारेमा बालप्रतिभा आयुषसँग सौर्य दैनिकका लागि विनोद अधिकारीले गरेको संक्षिप्त संवाद 

रियालिटी सो ‘सारेगम लिटिल च्याम्प्समा’ बाट फर्केपछि कस्तो महसुस भएको छ ?
नियमितको कार्यक्रमका साथै भर्खरै मुम्बईको कार्यक्रम सकेर फर्किएकाले थकाइ महसुस भइरहेको छ ।

गीत गाउन थालेको कति वर्ष भयो ?
मैले गीत गाउन थालेको तीन वर्षको उमेरदेखि नै हो । म जतिवेला संगीत बुझ्ने र गुनगुनाउन सक्ने भएँ त्यहीवेलादेखि नै गाउन थालेको हुँ ।

पहिलो गीत कहिले रेकर्ड भएको हो ?
०७३ सालमा म नौ वर्षको हुँदा ‘सुरशाला आइडल’ बिजेता भएँ । त्यसपछि मात्र मैले पहिलो गीत रेकर्ड त्यसै वर्ष गरेँ

संगीत क्षेत्रमा लाग्ने प्रेरणा कसबाट प्राप्त भएको हो ?
जान्ने भएदेखि नै मेरो रुचि संगीततिर थियो । दुई वर्षको उमेरमै विभिन्न खेलौनाहरूमा गितारको छनोट गरी गितार नै हातमा लिएर खेलाउन थालेँ । पछि संगीत नबजाई खाना खानै नमान्ने भएपछि तीन वर्षको उमेरदेखि विद्यालय सुरु गरेको हुँ । परिवारले पनि संगीत सिक्ने वातावरण तयार गरिदिएकाले मुख्यतः मेरो परिवार नै संगीतमा लाग्ने प्रेरणाका स्रोत हुनुहुन्छ ।

परिवारमा अरू कोही सांगीतिक क्षेत्रमा लाग्नुभएको छ ?
मेरी दिदी आयुषा केसी गीत गाउनु र नाच्नु हुन्छ । उहाँले पनि मलाई सांगीतिक क्षेत्रमा हौसला दिइरहनुहुन्छ साथै सहयोग पनि गर्नुहुन्छ ।

सुरशालाको यात्रा कसरी अगाडि बढेको हो ? यसबारेमा केही बताइदिनुहोस् न ।

मेरो विद्यालय मोर्डन सेकेन्डरी स्कुलमा सर्वप्रथम आदरणीय संगीत शिक्षक क्षितिज कुलुङ सर हुनुहुन्छ । उहाँको मित्र गायक अमृत क्षेत्री सर जो सुरशाला फाउन्डेसनको संस्थापक पनि हुनुहुन्छ । उहाँमार्फत सुरशाला बालगायन प्रतियोगिताको फर्म मलाई विद्यालयमा क्षितिज सरले ल्याइदिनु भएको हो । मेरो गायनप्रतिको लगाव देखेर त्यो फर्म भरी सुरशालामा बुझाउन भन्नुभयो अनि मैले त्यो फर्म भरेर बुझाएँ । त्यसपछि अडिसनको तयारी भयो । पछि धेरै चरणहरू पार गर्दै अगाडि बढेँ र अन्त्यमा सुरशाला ०७३ सालको बिजेताको उपाधि जित्न सफल भएँ ।

सारेगम लिटिल च्याम्सको यहाँको यात्रा कसरी अगाडि बढ्यो र सफल भयो ?
सर्वप्रथम सुरशाला आइडलको यात्राबाटै मेरो सम्बन्ध आदरणीय अमृत क्षेत्री सरसँग राम्रो भइसकेकाले वहाँसँग मेरागुरू क्षितिज कुलुङ सर र मेरो नियमित सम्पर्क भइरहन्थ्यो । यसैक्रममा एकदिनको बसाइमा अमृत सरले सारेगम लिटिल च्याम्सका बारेमा केही बताउनुभयो । यसैक्रममा सन् २०१९ को सारेगम लिटिल च्याम्सको प्रारम्भिक चरणको छनोट प्रारम्भका लागि जिटिभीले नेपालबाट पनि आवेदन माग गरेको रहेछ ।

अमृत सरकै पहलमा नेपालबाट प्रारम्भिक छनोटका लागि दिल्लीमा १० जना हामी गएका थियौँ । त्यहाँको छनोट प्रक्रियामा नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ प्रतिस्पर्धी सहभागी थियौँ । त्यहाँ जानेमध्ये नेपालका तर्फबाट इटहरीका प्रितम आचार्य र मैले मात्र छनोट चरण पार गर्न सफल भयौँ । त्यसपछि मात्र हामी मुम्बई अडिसनमा पुग्यौँ । मुम्बइमा पनि हामी छानिएका प्रतियोगीको विभिन्न चरणमा छनोटको काम भयो ।

मुम्बईमा पहिले अन्तिम ३० प्रतियोगी छानिएकामा अर्को चरणमा अन्तिम १६ मात्र पुग्न सफल भयौँ । यसपछि फेरि पटक पटक गरी हरेक चरणमा दुई दुईजना एलिमिनेट हुँदै कार्यक्रम अगाडि बढ्यो । तीन चरणमा ६ जना एलिमिनेट भए पनि अन्तिम ९ मा हामी पर्न सफल भयौँ । यसपछिको चरण अझ चुनौतीपूर्ण बन्दै गयो र पनि हामी हार नखाई आत्मविश्वासका साथ प्राक्टिस गर्दै अगाडि बढिरह्यौँ ।

 मुम्बईमा रहँदा तपाईंहरूका लागि संगीत सिक्न त्यहाँ बस्न खान कुनै समस्या थिएन ?
त्यस्तो केही पनि समस्या थिएन । किनभने जिटिभीले यसको सम्पूर्ण प्रबन्ध गरेको थियो । त्यहाँ रहँदा हामीले धेरै नयाँ कुराहरू सिक्ने र सिकेका कुराहरू एक अर्कामा प्रस्तुति गर्ने सुनौलो मौका पाएको अनुभव भयो ।

तपाईंको फाइनल राउन्डसम्मको यात्रा कस्तो रह्यो त ?
त्यहाँ अन्तिम नौ मा पुगेका हामीलाई फाइनल चरणमा पुग्न अझ चुनौती थपियो । तापनि हामी प्रितम र मैले आत्मविश्वार र हाम्रो नियमित अभ्यासलाई जारी राख्यौँ जसको परिणाम हामी दुवै अन्तिम ६ मा छानियौँ र हाम्रो फाइनल चरणको यात्रा सुनिश्चित भयो । यसपछि भने हामीलाई एउटा प्रमुख गन्तव्यमा पुगेको झैँ सन्तुष्टि प्राप्त भएको थियो ।

अन्तिम ६ छनोट भएपछि पनि तपाईंहरूको यात्रा अझ बाँकी नै थियो हैन र ?
हो, अन्तिम अवस्थासम्म हामीलाई देश विदेशबाट दर्शकले देखाउनुभएको माया अविस्मरणीय रह्यो । अनि हामी अन्तिम ६ बाट प्रथम र द्वितीय स्थानमा पुग्न नसके पनि तृतीय स्थानमा प्रितम र चौथो स्थानमा आफू छानिँदा हामीलाई कुनै हारको महसुस भएन । किनकी हाम्रो यहाँसम्मको यात्रा नै नेपालको इतिहास बनाउन काफी भइसकेको थियो । यसैले म सम्पूर्ण दर्शकप्रति हार्दिक हार्दिक आभार प्रकट गर्दछु ।

अन्त्यमा,
तपाईंलाई पनि मेरा अनुभवहरू राख्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनमा अझ उत्कृष्ट सिर्जनाका साथ आउने र तपाईंहरूको मप्रतिको मायामा कमी हुन नदिने कोसिस गर्छु ।

प्रतिक्रिया