आफू राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह

हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका सरकारले आफू राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह गरेका छन् । अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका रकमलाई काम गर्न नदिने सम्मका कुरा आएकाले यसलाई छोड्न निर्देशनसमेत दिए ।

प्रदेश–३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई जीवनभर बलियो बनाउनका लागि आफू लागिपरेको स्मरण गर्दै प्रदेशले स्थानीय तहलाई कुनै पनि हालतमा कमजोर बनाउन नदिने जिकिर गरे । उनले भने, ‘स्थानीय तहलाई बलियो बनाउनका लागि जीवन बिताएको छु ।’

अहिले प्रदेश र स्थानीय तहका बीचमा भएको समस्या हल गरिनुपर्ने बताए । अबको समयमा कुन तहका योजना कुन सरकारले गर्ने भनेर तय गरिनुपर्ने भन्दै सधैँभरी योजना चाहियो भनेर फाइल बोकेर हिँडिराख्ने प्रवृत्तिको अन्त्य गनुपर्नेमा जोड दिए । स्थानीय तहले बनाउने नीतिमा प्रदेश सरकारलाई फलो गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिलेको समस्या नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर रहेको छ यसबाट सच्चिनुपर्छ’, उनले भने ।

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरूको कुरा मान्नै नहुने ब्याख्या गलत भएको उनको भनाइ थियो । एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुने मुख्यमन्त्री पौडेलको भनाइ थियो । ‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले अब पुरानो शासन सत्तालाई परिवर्तन गर्नुपर्छ । तर, हामीले त्यो बाटो परिवर्तन गर्न सकेका छैनौँ’, उनले भने ।

संविधानले स्पष्ट ढंगबाट हाम्रा अधिकारको सूची तयार गरेको भए पनि हामी किन अझै अन्योलग्रस्त छौँ भन्दै प्रश्नसमेत गरे । उनले हिजोको प्रक्रिया शैलीमा काम गर्ने हो भने गन्तव्यमा पुग्न नसक्ने बताए । समृद्धिका लागि हामिले पुरानो शैलीलाई परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘गर्दै आएका कुरा मात्रै गर्ने परिवर्तन नहुने हो भने समृद्धिको यात्रामा पुग्न सकिन्न ।’ मुख्यमन्त्री पौडेलले समन्वयकारी ढंगबाट काम गर्न नसके अघिल्लो यात्राको बाटोमा समस्या आउने बताए ।

अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका रकमलाई काम गर्न नदिने सम्मका कुरा आएकाले यस्ता कार्य तत्काल रोक्न सुझाव दिए । उनले प्रदेशले स्थानीय तहलाई कुनै पनि हालतमा कमजोर बनाउने भन्दै स्थानीयतहलाई बलियो बनाउनका लागि आपूmले जीवन बिताएको स्मरण गराए ।

कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेका कानुन कार्यान्वयनका लागि स्थानियतह तत्पर हुनुपर्ने बताए । उनले कानुन बनाउने मात्र होइन कार्यान्वयनमा आउनुप¥यो । नेपालमा नीति धेरै बन्ने तर कार्यान्वयन नहुने कारणले समस्या आएको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले संविधानभन्दा माथि तीनै तहका सरकार नरहेको बताए । उनले स्थानीय र प्रदेश सरकारका बीचमा समन्वय गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार स्थानीय सरकारलाई हस्तक्षेप गर्न गठन नभएको बताए ।

दुई दिनसम्म चल्ने बैठकमा संघीयताको सबलीकरणका लागि स्थानीय तह र प्रदेशबीच नीतिगत तथा कार्यगत सम्बन्ध र रणनीतिगत साझेदारीका विषयमा प्रस्तुतीकरण, बालविवाह मुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीयतहका लागि बनाउनुपर्ने कानुनको पालनाका बारेमा सुझावसहित कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा प्रदेशका १ सय १९ बटै स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया