थ्री स्टार, मनाङ र आर्मी एउटै समूहमा

काठमाडौं । ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको चौथो संस्करण बुधबारदेखि राजधानीमा सुरु हँुदैछ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक साताअघि नै समूह विभाजन र खेलतालिका सार्वजनिक गरिसकेको छ । उद्घाटन खेलमा एनआरटी र च्यासलबीच प्रतिस्पर्धा हुने छ । खेल २ बजेपछि एन्फा कम्प्लेक्समा हुनेछ ।

सार्वजनिक भएको खेल तालिका अनुसार उपाधिका दावेदार टोली त्रिभुवन आर्मी क्लब, रुस्लान थ्री स्टार क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एकै समूह ‘बी’ मा परेका छन् । यो समूहमा नेपाल एपीएफ महिन्द्रा फुटबल क्लब र फ्रेन्डस् क्लब पनि रहेका छन् ।

समूह ‘ए’ मा हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), सिएमजी क्लब संकटा, मछिन्द्र क्लब र भ्याली च्यासल युथ क्लब रहेका छन् । समूह ‘सी’ मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युवा क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहेको छ । २९ जेठबाट शुरु हुने प्रतियोगिता ३१ असारसम्म सञ्चालन हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूह विजेता र उपविजेता तथा दुई उत्कृष्ट तेस्रो टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको लागि सबै टोलीलाई तयारी खर्च स्वरुप १ लाख २५ हजार प्रदान गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगिताको सुरुआती दुई संस्करण आर्मी च्याम्पियन बन्दा गत संस्करणमा ब्रिगेड ब्वाईज च्याम्पियन बनेको थियो ।

नेपालमा उमेर समूह फुटबलको उद्यान मानिने एन्फा एकेडेमी बनाउने श्रेय एन्फाका पूर्व उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिइन्छ । उनकै स्मृतिमा संघले हरेक वर्ष १८ वर्ष मुनिको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । श्रेष्ठको २०७२ जेठ २९ गते नयाँ घरमा सर्ने क्रममा करेन्ट लागेर निधन भएको थियो ।

प्रतिक्रिया