कालीकोट । एक दिनमा २० केजीसम्म च्याउ उत्पादन हुनेगरी मिहिनेत गरेका छौँ । घरपरिवारका सबै सदस्यहरू च्याउ खेतीमा नै व्यस्थ छौँ । कात्तिकको महिनामा धान काटेर सुकाइएको पराल छिमेकीसँग किन्न र काटेर कुवाउन ठिक्कै छ च्याउ खेतीमा नियमित लागिपरेकी सीता खड्काले सुनाइन् ।
च्याउ अहिले मासुभन्दा पनि राम्रो र महँगो पनि उत्तिकै छ । च्याउ प्रतिकिलो तीन सय रुपैयाँ पर्छ । तर, च्याउ खानेहरूले यति सजिलै भेटाउन गाह्रो पर्छ । अब यी सबै समस्याहरूलाई मध्यनजर गर्दै कालीकोटमा इच्छा च्याउ उद्योग सञ्चालनमा आएको छ ।
सीताको घरपरिवारमा आठ जना छन् । आठ जनाको दैनिकी च्याउ खेतीबाटै चलाउने घरपरिवार सबैको आशा छ । खाँडाचक्र नगरपालिका कृषि शाखा कालीकोटले च्याउको बिउवीजन र खेती गर्नका लागि प्लास्टिकजन्य सामग्रीहरू निःशुल्क वितरणपछि खाँडाचक्र नगरपालिका–२ मा इच्छा च्याउ उद्योग सीताले सञ्चालनमा ल्याएकी हुन् । उत्पादन गरेका च्याउ स्थानीय हाटबजार मान्म, जिते, हुल्म, ताडीमा बिक्री गरिने कुरा उनले बताइन् । उनको च्याउ उद्योगमा अहिले धेरै च्याउहरू लटरम्म फलिरहेका छन् । केही च्याउहरू फल्ने तयारीमा छन् ।
मंगलबार बिहान खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा उक्त च्याउ उद्योगको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख जसिप्रसाद पाण्डेले यसरी उद्यमी बनी आफ्नो जीवन गुजारा गर्ने किसानहरूलाई नगरपालिकाबाट थप राहत प्रदान गरिने बताएका छन् । प्रमुख पाण्डेका अनुसार यो च्याउखेती कालीकोटमै पहिलोपटक सुरुआती गरिएकाले यसले राम्रो बजार पाउने कुरा सुनाए ।
खाँडाचक्र नगरपालिका कृषि शाखा कालीकोटका प्रमुख पर्शुराम काफ्लेले यसरी व्यापार व्यवसाय गरी आफ्नो र परिवारको जीवनमा केही भिन्नता आउने र आर्थिक क्रान्ती पनि छिट्टै वृद्धिदर हुने भएकाले इच्छा च्याउ उद्योगलाई शुभकामना दिँदै सधँैभरी यस्तो व्यवसायमा लाग्न आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया