अधिकांश फाेटाे खिच्न नै व्यस्त

ललितपुर । सहकाल र वर्षाका देवता रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आइतबार जावलाखेलमा भोटो देखाइएको छ । भोटो हेर्ने आएका मध्ये अधिकांश मोवाइलमा फोटो खिच्न व्यस्त देखिए ।

अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाए । भोटोमा कसैको दाबी प्रस्तुत नभएपनि सो १५ मिनेटसम्म उपस्थित सबैले मोवाइलबाट फोटो खिच्न भने व्यस्त देखिए ।

उनीहरूमा मोवाइलको फोटोप्रति निक्कै मोह देखिएको थियो । के बुढाबुढी, के युवा, के बालक सबै आ–आफ्नो मोवाइल निकालेर फोटोमा मस्त थिए । सूचना प्रविधिमा फड्को मारेसँगै पछिल्लो समय मानिसहरू सामाजिक सञ्जालमा व्यस्त हुन थालेका छन् । जसको यो पछिल्लो उदाहरण समेत हो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन् । सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । कार्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरू, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागी थिए । भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए ।

गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरे । जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए । राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदा गरे । भोटो जात्रा सम्पन्न भएपछि आइतबार साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगियो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।

प्रतिक्रिया