काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा निस्कँदा महत्वपूर्ण मानिएको बेलायत भ्रमण भने खल्लो हुने भएको छ ।
युरोपेली संघबाट बाहिरिने कि नबाहिरिने भन्ने आन्तरिक बहसले तीव्र रूप लिँदा प्रधानमन्त्री टेरेसा मे ले केहीदिन अघि पार्टीको प्रमुखबाट राजिनामा दिइन् । उनी रुलिङ कन्जरभेटिभ पार्टीको नेताका रूपमा राजीनामा दिएपछि उनले अर्को नेता चयन नभएसम्मका लागि प्रधानमन्त्रीका रूपमा कामचलाउ भएर काम गर्ने छिन् । बेलायतमा सत्तारूढ पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन रहेको छ । नेपालको प्रधानमन्त्रीका रूपमा १७ वर्षपछि हुन लागेको भ्रमणका वेला कामचलाउ प्रधानमन्त्रीसँग भेट हुने भएपछि महत्वपूर्ण सहमति हुने सम्भावना कम छ ।
शनिबार साँझ काठमाडौंबाट उडेका प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड पुग्नेछन् । जेनेभामा हुने अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी भएपछि उनी बेलायत र फ्रान्सको राजकीय भ्रमणमा जानेछन् । जेनेभाबाट प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्ने कार्यक्रम रहेको छ । नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको देश बेलायतमा ओली तीन दिन रहने छन् ।
प्रधानमन्त्री ओलीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता हुने कार्यक्रम छ । यो दुई पक्षीय भेटमा नेपाल बेलायत सम्बन्ध र भूपू गोर्खा सैनिकका समस्याबारे छलफल हुने जनाइएको छ । यद्यपी उनी कामचलाउ रहेकाले कुनै निर्णय हुन सक्ने सम्भावना निक्कै कम रहेको कुटनीतिज्ञ बताउँछन् ।
जेठ २७ गते ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेलायतको भ्रमणपछि ओली फ्रान्स जानेछन् । जहाँ दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने तयारी छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता हुन लागेको हो । ओलीले फ्रान्सेली समकक्षीसँग ‘वान टु वान’ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकर दास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, परराष्ट्रका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, नेकपाकी सांसद विन्दा पाण्डेलगायत छन् । असार १ गते आइतवार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया