मित्रलाई जोड्ने ‘मित्रताको सुर्किनी’

आत्मासँग आत्माको प्रेम पार्थिव नेत्रद्वारा देख्न सकिन्न र आत्माले मात्र देख्न सक्छ । अनुभव र अनुभूतिले मात्र प्रेमको कला सिक्न सकिन्छ । भनिन्छ नि निर्मल प्रेमले सञ्जीवनीको काम गर्छ । कुनै उद्देश्यले गरिएको, राखिएको, बनाइएको मित्रता क्षणिक हुन्छ । अर्र्थात् उद्देश्य प्राप्ति नहुँन्जेलसम्मका लागि । फेरि यो सत्य हो कि सुखको क्षणमा भन्दा दुःखमा नै वास्तविक मित्र सहायक बन्दछ । कति बालसखाहरू ठूलो हुँदै जाँदा छोडिँदै जान्छन् भने कति नयाँ नयाँ मित्रहरू जीवनमा जोडिँदै जान्छन् । जहाँ मित्रतमा स्वार्थ लुक्छ त्यो मित्रता दीगो हुन सक्दैन ।

प्रकृतिको नियम पनि हो मन मिल्ने जोडिँदै जान्छन्, मन नमिल्ने छोडिँदै जान्छन् । फेरि एकातिरबाट माया र अर्र्कोतिरबाट घृणा गरेर सम्बन्ध दीगो पनि हुँदैन । केही देखावटी मित्रता हुन्छन् भने केही व्यावहारिक । यस्तै आफ्नो बालसखा डा. डीआर उपाध्यायलाई व्यावहारिक माया पस्किएका छन् सुरेश घिमिरे ‘निश्चिन्त’ ले हालै सार्वजनिक गरिएको पुस्तक ‘मित्रताको सुर्किनी’मार्फत । आफ्नो बालपनदेखिको साथीलाई योभन्दा ठूलो उपहार के हुन सक्छ र !

सुरेश घिमिरे ‘निश्चिन्त’ आफैँमा चिरपरिचित गीतकार तथा साहित्यकार हन् भने डा. डीआर उपाध्यायले पछिल्लो समयमा नेपाली गीत संगीतको फाँटमा जबर्जस्त उपस्थिति देखाएका छन् । गीतका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल उनका गीतले विश्व रेकर्डका उपाधि पाइरहेका छन् भने उपन्यासकार र स्तम्भ लेखकका रूपमा विभिन्न दैनिक पत्रिका र अनलाइनमा समसामयिक विषयमा उनका लेखहरू प्रकाशित भइरहेका छन् ।

डा. उपाध्याय नेपाली साहित्य क्षेत्रमा आफ्नो एकपछि अर्काे कृति पाठकमाझ ल्याएर पाठकको मन मष्तिकमा राज गर्न सफल सर्जक हुन् । पहिलो उपन्यास कृति वि.सं. २०६९ मा ‘बज्रघात’ लिएर पाठकमाझ आफ्नो चिनारी पस्किएका उपाध्यायले त्यसपछि लगातार २०७१ सालमा त्यागी, वि.सं. २०७३ मा भाग्यचक्र, २०७३ मै अपवित्र छायाँ, २०७४ मा स्वार्थी, २०७४ मै बिटुली, २०७५ मा अतिरिक्त, २०७५ मै दगाबाज र २०७६ मा अधुरो प्रेम लिएर आएका छन् । उनका यी सबै उपन्यासको दोस्रो संस्करण समेत बजारमा आइसकेका छन् । यस्तै पछिल्लो समय एउटै गीतकारका ७ वटा एल्बम ल्याएर गीतकारका रूपमा पनि आफ्नो सशक्त उपस्थिति देखाइसकेका डा. उपाध्यायको पहिलो गीति एल्बम ‘प्रणय’ रहेको थियो । उनको एकसाथ ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’ र ‘माउण्टेन मेलोडी’ जस्ता गीतिएल्बम एकसाथ लिएर आएका थिए । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई कीर्तिमान कायम गर्ने डा. उपाध्यायको यही जेठ पाँच गते राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएका थिए । सोही अवसरमा गीतकार÷लेखक सुरेश घिमिरे ‘निश्चिन्त’ द्वारा लेखिएको ‘मित्रताको सुर्किनी’ को विमोचित गरिएको थियो ।

वि.सं. २०३८ सालमा ‘खेलाडी हुँ खेलाडी हुँ…’ बोलको गीतबाट नेपाली गायन क्षेत्रमा आफूलाई होमेका सुरेश घिमिरे ‘निश्चिन्त’का पनि अहिलेसम्म आइपुग्दा थुप्रै गीत स्रोता÷दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन् । ३० वर्ष लामो समय अवधिसम्म विभिन्न सरकारी निकायमा प्रशासनिक सेवामा रहेका घिमिरेका स्पन्द मुटुको (गीतिसंग्रह–२०६४), शुभेच्छा (गीति एल्बम–२०६६), दिल खोली पर्खिरै’छु (गीतिसंग्रह–२०६८), मीठो मूच्र्छन्ना (गीति एल्बम–२०६९), तीर्थ (यात्रा संस्मरण), पद्मदीप दर्पण, सुदिपन (गीति एल्बम), सुगन्ध (भजन एल्बम) जस्ता कृति स्रोता, दर्शक र पाठकमाझ आइसकेका छन् । गीत लेखनसँगै गायनमा पनि आफूलाई प्रस्तुत गरेका सुरेशले समूह गायनमा उनका धेरै रुचाइएका गीतमा ‘काली पनि देखेँ गोरी पनि देखेँ…’, ‘घाँस काटी वैलीलाई…’, ‘मायालु सम्झी कति रोइरहने…’, ‘देखेपछि माया नि लाग्ने छेकँु भन्दा भाग्ने…’ (बदलिँदो आकाश चलचित्र) लगायत पर्दछन् । उहाँका समय–समयमा विभिन्न सञ्चारमाध्यम र कृतिहरूमा अन्य फुटकर लेख–रचनाहरू पनि प्रकाशित भइरहेका छन् भने उनको पाठकमाझ आएको पछिल्लो कृति हो ‘मित्रताको सुर्किनी’ । १ सय ८५ पृष्ठको कृति ‘मित्रताको सुर्किनी’ लाई डीआर म्युजिक एन्ड ट्रेडिङ र श्री पद्म–दीप स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएका छन् ।

‘मित्रताको सुर्किनी, स्मरणको पाना पल्टाउँदा’ भनिएको कृतिमा भाषा संसोधन रमेशप्रसद घिमिरे, सुशांखीकरण प्रभा आले मगर र प्राविधिक सहयोग युथ क्रिएसन अनि रमेश थापाको रहेको छ । भगवान श्रीकृष्ण र सुदामा झैँ मित्रताको लागि आहुति दिने सम्पूर्ण मित्रहरूमा समर्पण भनिएको कृति नितान्त डा. उपाध्याय केन्द्रित रहेर लेखिएको उनको बायोग्राफी ढाँचाको रहेको छ । डा. उपाध्यायका बारेमा यो कृतिले राम्रो परिचयसमेत जनमानसमा पु¥याउन खोजेको देखिन्छ । अंग्रेजीमा ‘नुज अफ फ्रेन्डसिप’ भनिएको यो कृतिमा संगीतकार तथा अन्वेषक बुलु मुकारुङ, राष्ट्रिय महिला अधिकार मञ्च नेपालकी पूर्व अध्यक्ष सरिता श्रेष्ठ, सञ्चारकर्मी लिलप्रकाश चन्द, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ र डा. डीआरका सखाहरू ब्रजेश प्याकुरेल, राघव भट्टराई, श्रीविन्दकुमार खनाल, किशोर डंगोल, सुशील खनाल, उत्तम मैनाली, विजय विक्रम शाह, कमल अधिकारी लगायतका शुभ–कामना समेटिएका छन् ।

कृतिको दैलो उघार्दै सुरेश लेख्छन्– ‘दोस्ती तो वो है, जो वारिस मे भिगे चेहेरे पर गिरे हुए आँशु पहिचान लेति है ।’ कृतिमा डा. उपाध्यायका गीतहरू, बालसखाका देखिको मित्रतासँगै उपाध्यायका पुस्तक र गीति एल्बमको लोकार्पण समारोहका रंगीन र सादा तस्विरहरू पनि समेटिएको छ । सञ्चारकर्मी, रेडियोकर्मी, पत्रकार तथा संगीतकारका नजरमा डा.उपाध्याय शीर्षकमा लिलप्रकाश चन्द, सन्तोष श्रेष्ठ, अच्यूत घिमिरे ‘बुलबुल’ का लेखहरूमा समावेश गरिएको यस कृतिमा उनीहरूले डा. उपाध्यायलाई विभिन्न कोणबाट एउटा राम्रो गीतकार, सफल व्यवसायी र राम्रो उपन्यासकारका रूपमा प्रस्तुत गर्नुभएको छ । डा. उपाध्यायको गीत संगीत, उनको सफल व्यवसाय र मित्रताको उनुपम उदाहरणका लागि यो पुस्तक संग्रहणीय रहेको छ ।

अन्त्यमा, गीतकार तथा लेखकका रूपमा आफूलाई पाठक, स्रोता र दर्शकमाझ सशक्तरूपमा प्रस्तुत गरिरहेका सुरेश घिमिरे ‘निश्चिन्त’ का अझ सशक्त कृतिको रसस्वादन गर्न पाइयोस् ।

प्रतिक्रिया