धादिङ । नेपाली कांग्रेसको छत्र छायामा रहेर धादिङलगायत आसपासका क्षेत्रमा गुन्डागर्दी गर्दै आएका गुन्डानाइके राधाकृष्ण भण्डारी (राधे) खुँडा र चक्कुसहित पक्राउ परेका छन् । बुधबार साँझ धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित कात्राकबाट राधेसहित पाँच जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
गुन्डानाइके राधेसँगै उनकै समूहमा रहेर आपराधिक गतिविधि गर्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य र समिर थापा मगरलाईसमेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
प्रहरी उपरीक्षक बैदवारका अनुसार गुन्डानाइके राधे खुँडा र चक्कु देखाउँदै स्थानीय सर्वसाधारणलाई कुटपिट गरिरहेका समयमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार ‘गाँउपालिकाको निकासी कर उठाउने विषयमा विवाद गरी स्थानीयलाई कुटपिट गरिरहेका वेला पक्राउ गरिएको हो,’ बैदवारले भने, ‘यसबारे हामिले अनुसन्धान गरिररहेका छौँ ।’
गाउँपालिकाको निकासी कर उठाउन गजुरी गाउँपालिकाको ठेक्का पाएका गुन्डानाइके राधेले सिमाना पारी रहेको बेनिघाट रोराङ गाउँपालिका तर्फको करको समेत दाबी गरेका थिए । सोही विषयमा बेनिघाट रोराङ गाउँपालिका तर्फका स्थानीय युवाले उक्त कार्यप्रति असन्तुष्टी जनाएपछि राधे स्वयं खुँडा र चक्कु बोकेर टोलीसहित कात्राक गएका थिए ।
खुँडा र चक्कुसहित कात्राक गाउँ पुगेर गुन्डानाइके राधेले सर्वसाधारणमाथि धाकधम्कीसहित कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै कात्राक पुगेको प्रहरी टोलीमाथिसमेत राधेले आक्रमण गरेका थिए । आक्रमणमा परी एक प्रहरीको बर्दीसमेत च्यातिएको छ भने एक सर्वसाधारण घाइते छन् ।
राजनीतिक छत्रछायाबाट खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिटमा संलग्न गुन्डानाइके राधे नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धादिङका उपाध्यक्षसमेत हुन् ।
एक समय चर्चित दिनेश अधिकारी ‘चरी’ सँग आपराधिक गतिविधिमा संलग्न राधे पछिल्लो समय चरीसँगै प्रतिष्पर्धा गर्न सुरु गरेका थिए । ०७१ सालमा प्रहरीसँगको मुठभेडका क्रममा चरीको मृत्युपस्चात धादिङ जिल्लामा एकछत्र रूपमा गुन्डागर्दी गर्दै आएका थिए ।
प्रहरी इन्काउन्टरमा चरी मारिएपछि धादिङमा राधेको एकछत्र आपराधिक गतिविधि चल्दै आएको छ । अधिकारी र उनको समूहबीच बारम्बार झगडा परिरहन्थ्यो । त्यसक्रममा राधेले अधिकारीलाई एकपटक गोली प्रहार गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार आपराधिक क्रियाकलापमा संलग्न राधेलगायत सबैलाई जिल्ला प्रहरी कार्यालय लगेको छ ।
राधे समूहले गरेको पछिल्लो अपराधिक गतिविधि, कुटपिट र आक्रमणबारे पीडितले जाहेरी दिएपछि मात्र के कारबाही गर्ने भन्ने निष्कर्षमा पुगिने प्रहरीले बताएको छ ।
प्रतिक्रिया