बाथरोगीको तथ्यांक नै छैनः पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा ६२ प्रतिशत नसर्ने रोगबाट मानिस ग्रस्त भएको बताएका छन् ।

‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ मूल नाराका साथ २०७० मा स्थापना भएको नेशनल बाथरोग सेन्टरले स्थापनाको छैटौँ वर्षमा लागेको अवसरमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । सेन्टरको वार्षिकोत्सवमा उनले भने, ‘यी रोगलाई समयमै नरोक्ने हो भने सन् २०३० सम्म दिगो विकासको लक्ष्यलाई जोडेर हेर्दा भयावह अवस्था आउँछ । अहिले जीवनपद्धति बदलिएका छन्, जसले गर्दा समस्या पनि थपिँदै गएका छन् ।’

नेपालमा बाथरोगसम्बन्धी सर्भे नभएकाले बाथरोगीको यकिन तथ्यांक बाहिर ल्याउन नसकिएको मन्त्री पोखरेलले बताए । ‘बाथरोगले ग्रस्त बिरामी कति छन्, सर्भे गरेर उनीहरूलाई उपचारको दायरामा ल्याउनुपर्छ,’ मन्त्री पाखरेलले भने । दक्ष जनशक्ति उत्पादनका लागि विगत ६ वर्षमा तालिम, प्रविधि तथा प्राविधिक क्षमतालाई अभिवृद्धि गर्ने काम भएको तथा कुल बिरामीमध्ये २ दशमलव ५ प्रतिशत बाथरोगबाट ग्रस्त बिरामीको सफल उपचार भएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

बाथरोग सेन्टरले नेपालमा पहिलोपटक adlimumab नामक बायोलोजिकल एजेन्ट ल्याएकाले हजारौँ बिरामीले अन्य मुलुक गएर उपचार गर्नुपर्ने बाध्यता न्यूनीकरण भएको सेन्टरको दाबी छ । सेन्टरले टेखापुखु, जावलाखेल, पोखरा, झापामा आफ्ना क्लिनिक शाखाहरू विस्तार गरेको जानकारी दिएको छ । सेन्टरको ‘समयमै परीक्षण गरौँ, जोर्नीहरू बचाऔँ’ भन्ने अवधारणा छ । सेन्टरले हालसम्म भक्तपुरमा २ हजार १ सय ६१, जावलाखेलमा ६ हजार ४ सय २, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ स १२ र निःशुल्क स्वास्थ्य शिविरमा ४३ हजार २ सयजना गरी कुल ८२ हजार ७ सय ७४ जना बाथरोगीलाई उपचार सेवा पु¥याएको जनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर सेन्टरले नेपालमा ज्येष्ठ प्राध्यापक सामाज एवम् बद्रीतीर्थ आर्थराइटिस समाजको संयुक्त अभ्यासमा प्रा.डा. वीरेन्द्र प्रसाद मिश्रलाई तीर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरेको थियो । सेन्टरले वेब बेस्ड क्लिनिक सञ्चालनमा ल्याउने, वेब बेस्ड तालिम गराउने, कम्यिुनिटी बेस्ड रिसर्च र टेलिमेडिसिनलाई निरन्तरता दिने, गरिब तथा जनजातिलाई निःशुल्क उपचार गराउने, केन्द्रीयस्तरको अस्पतालको निर्माण गर्नेलगायत योजना अघि सारेको छ ।

बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले मुलुकमा झन्डै २९ लाख बाथरोगी उपचारको पहुँचबाहिर रहेको पाइएको बताए । नेपालमा ३० लाखको हाराहारीमा बाथरोगका बिरामी भएको तर तीमध्ये करिब १ लाखको हाराहारीमा मात्र उपचारमा पहुँचमा भएको उनले सुनाए । ‘बाथरोगको उपचारमा नयाँ प्रविधि भित्रिएका तथा आवश्यक औषधि उत्पादन भएकाले ८० प्रतिशत बाथरोगको उपचार नेपालमै सम्भव छ,’ उनले भने । मन्त्री पाखरेलले चिकित्सा शिक्षा ऐन पास गर्दा त्रुटि भएका कारण कार्यान्वयनमा समस्या भएकाले संशोधनको प्रक्रिया बढाउन लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया