काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा भिडियो सन्देश दिँदै उनले जमिन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रूपमा मनाउँदै अभियानलाई निरन्तरता दिएको बताए ।
उनले गतवर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करिब २३ लाख फलफूलका बिरुवा रोपिएको जानकारी दिए । हरेक वर्षजस्तै बुधबार नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइयो । कुल जमिनको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको छ ।
पृथ्वीमा अस्वाभाविक ढंगले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । उनले भने, ‘यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरू बढिरहेका छन् ।’
हामीले खाने खाना, पिउने पानी र श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करिब ७० लाख मानिसको मृत्यु हुने गरेको बताए । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उनको भनाई छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले भने ‘विश्वमा भइरहेको वातावरणीय असन्तुलनमा हाम्रो खासै नकारात्मक भूमिका छैन । त्यसैले बिग्रिएको र बिगिँ्रदै गएको वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि हामीले विश्वलाई नै आह्वान गर्नुपर्ने अवस्था आएको छ । त्यही उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस सुरु गरिने छ ।’
नियमित कार्यकै रूपमा सरकारले विभिन्न हिमालसहित सगरमाथा सफाइ अभियान अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक मानवीय क्रियाकलापले वातावरणीय असर पार्ने भएकाले त्यसलाई ख्याल गरेर सबैले बानी व्यवहारमा ध्यान दिन आवश्यक रहेको बताए । उनले वातावरण प्रदूषण रोक्ने सरकारको अभियानमा सदैव क्रियाशील हुन सबैलाई आह्वान समेत गरेका छन् ।
प्रतिक्रिया